![]()
काठमाडौ,२२ जेठ ।
सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहेका छन्। गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन्। पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत जिल्लिएका छन् ।
गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यसदिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन । त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ। गिरी आइतबार पनि सम्पर्कमा आएनन्।
सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले निवेदक गिरी सम्पर्कमा नरहेको बताए। उनले भनेः‘उहाँ सम्पर्कमा आउनुभएको छैन । तारिख थाम्न पाउने म्याद छउन्जेल हेर्नुपर्ने हुन्छ । अकारण तारिख गुजारेमा बेञ्चले कानुनी कारबाही गर्नसक्छ ।’ एक वर्षअघि मात्र अधिवक्ताको प्रमाणपत्र लिएका गिरी बनेपा, टुकुचाका स्थायी बासिन्दा हुन्। उनी हाल उच्च अदालत पाटन बार एसोसिएसनको सदस्य रहेको जनाइएको छ ।


