![]()
एजेन्सी,२१ जेठ ।
इन्डोनेसियामा बालबालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिइने भएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बालबालिकामाथि बढेको यौन हिंसा अन्त्यका लागि भन्दै मृत्युदण्डको कानुन बनाएको बताउनुभयो ।
त्यस्तै जेल सजाय काटेर निस्किएकालाई विद्युतीय ट्याग पनि लगाइनेछ । यसअघि इन्डोनेसियामा बालबालिका बलात्कार गर्नेलाई धेरैमा १४ वर्ष जेल सजाय हुने गरेको थियो । पछिल्लो समय बलात्कार तथा यौन जन्य हिंसा बढेको भन्दै नागरिक आन्दोलित भएपछि इन्डोनेसियामा नयाँ कानुनी व्यवस्था गरिएको हो ।
राष्ट्रपतिले भित्र्याएको कानुन केही समयमै कार्यान्वयनमा आउने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति विडोडोकै कार्यकालमा लागुऔषध प्रयोगकर्ता तथा तस्करहरुलाई मृत्युदण्ड दिइएपछि उहाँको आलोचना भएको थियो ।


