Breaking News.... EverestOnlineKhabar
April 18, 2026

राष्ट्रिय जनता पार्टी नेपाल पनि चुनाव उन्मुख,घोषणापत्रको तयारी गर्दै

Loading

काठमाडौ,१९ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पनि चुनावको तयारीमा जुटेको छ । राजपा दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको हो । राजपाले बिहीबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्यक पार्टी घोषणापत्र र विधान टुंगो लगाउने तयारी गरेको हो । संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तहको संख्या मधेसमा जनसंख्याको अनुपातमा थपिनुपर्ने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो सम्बोधन भए चुनाव स्वीकार्ने देखिएको छ । यसअघि शुक्रबारसम्मलाई घोषित आन्दोलनलाई उसले बुधबारै स्थगन गरिसकेको छ ।
राजपा शीर्ष नेता महन्थ ठाकुरले आफ्ना न्यूनतम चासोबारे प्रस्ट पार्दै छुटेका सहिद घोषणा, आन्दोलनका घाइतेलाई प्रभावकारी उपचार, अंगभंग भएकाको उचित व्यवस्थापन र झूटा मुद्दामा गिरफ्तारको रिहाइ आफ्ना लागि चुनावमा सहभागिताको सर्त रहेको बताए । मधेसी दलहरूले आफ्ना प्रतिबद्धता पालना गर्दै आए पनि सरकारले पालना नगर्दा समस्या भएको ठाकुरले बताए ।
यसअघिसम्म स्थानीय चुनावलाई लिएर राजपाभित्र दुईखाले मत देखिँदै आएको थियो । अध्यक्ष मण्डलका ६ नेतामध्ये शरतसिंह भण्डारी र महेन्द्र यादवले चुनावलाई उपयोग गरेर एजेन्डा स्थापित गर्नुपर्ने मत राख्दै आएका थिए भने राजेन्द्र महतो र राजकिशोर यादव आन्दोलनमा गएर चुनावमा जाँदा जनमत बढ्न सक्ने तर्कमा थिए । ठाकुर र अनिल झाले भने आन्दोलनतिर झुकाव देखाए पनि अन्तिम राय दिएका थिएनन् ।
आन्दोलन स्थगनसँगै ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सरकारले लिनुपर्ने र लिन सक्नेजति निर्णय लिन आग्रह गरेका थिए । जवाफमा दाहालले राजपाकै लागि भनेर सरकारले निर्वाचन आयोगले यसअघि तोकेको उम्मेदवार मनोनयन, मतदानलगायत चुनावी कार्यक्रम सारेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed