![]()
मड्रिड,२० बैशाख ।
क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा फेरि ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भयो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको हो ।
रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् । योसँगै उनले च्याम्पियन्स लिगमा धेरै पटक ह्याट्रिक गर्ने कीर्तिमानमा बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन् । मेस्सीले पनि सात पटक ह्याट्रिक गरेका छन् ।
एथ्लेटिकोसँगको खेलमा रोनाल्डोले १०, ७३ र ८६ औं मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगमा सातौं ह्याट्रिक गरेका हुन् । च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले अहिलेसम्म प्रतियोगितामा एक सय तीन गोल गरेका छन् । यो एथ्लेटिको मड्रिडले समग्र क्लबले नै च्याम्पियन्स लिगमा गरेको गोल भन्दा तीन गोल बढी हो ।
यो खेलमा रोनाल्डोले अर्को कीर्तिमान पनि बनाए, त्यो हो च्याम्पियन्स लिगको नकआउट चरणमा ५० भन्दा बढी गोल गर्ने । रोनाल्डोल च्याम्पियन्स लिगको नकआउट चरणमा अहिलेसम्म ५२ गोल गरेका छन् । यस्तै च्याम्पियन्स लिगको सेमिफाइनलमा धेरै गोल गर्ने खेलाडी पनि उनै हुन् । रोनाल्डोले च्याम्पियन्स लिगको सेमिफाइनलमा अहिलेसम्म १३ गोल (रियलबाट १० तथा म्यानचेस्टर युनाइटेडबाट ३) गरेका छन् । यो कुनै पनि खेलाडीले च्याम्पियन्स लिगको सेमिफाइनलमा गरेको सबैभन्दा धेरै गोल हो ।
यो सिजन च्याम्पियन्स लिगमा रोनाल्डोल अहिलेसम्म १० गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा मेस्सी भन्दा अब एक गोलले मात्रै पछि छन् । बार्सिलोना प्रतियोगिताबाट बाहिरिएकाले मेस्सीले थप गोल गर्ने सम्भावना छैन । रोनाल्डोले सेमिफाइनलको दोस्रो लेग र फाइनल पुगेमा फाइनलमा गोल गर्ने सम्भावना रहेकाले यो सिजनको सर्वाधिक गोलकर्ता पनि उनी नै बन्ने सम्भावना छ ।


