![]()
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. प्रकाशशरण महतले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्ने पक्षप्रति कडा टिप्पणी गर्नुभएको छ । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै डा. महतले विशेष महाधिवेशनको माग राजनीतिक स्वार्थबाट प्रेरित भएको दाबी गर्नुभयो ।
‘पुरानालाई सक्काउने खेल’
कार्यक्रममा बोल्दै नेता महतले विशेष महाधिवेशनका पक्षधरहरूले पार्टी सुधारभन्दा पनि नेतृत्व हत्याउने रणनीति बुनेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विशेषवालाहरू पुराना सबै नेताहरू सक्किउन् र हाम्रो बाटो खुलोस् भन्ने दाउमा छन् । यो पार्टी हितका लागि भन्दा पनि व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने बाटो मात्र हो ।”
डा. महतले नियमित अधिवेशनलाई नै साझा र सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै थप्नुभयो, “यदि आउने नियमित अधिवेशनलाई सबैको साझा बनाएर लैजाने सहमति हुन्छ भने मात्र कुरा मिल्न सक्छ, अन्यथा असन्तुष्ट पक्षको दबाबले पार्टीलाई फाइदा पुर्याउँदैन ।”
एकताका लागि ‘इगो’ त्याग्न आग्रह
पार्टीभित्र बढ्दै गएको गुटबन्दी र मनमुटावले संगठन कमजोर भएको स्वीकार गर्दै नेता महतले सबै पक्षलाई व्यक्तिगत इगो त्याग्न आग्रह गर्नुभयो । पार्टीलाई एक ढिक्का बनाउनका लागि नयाँ कार्यदल बनाएर अघि बढ्न सकिने उहाँको संकेत थियो ।
मुख्य बुँदाहरू:
-
विशेष महाधिवेशनले पार्टीमा विभाजन र अस्थिरता मात्र ल्याउने दाबी ।
-
नियमित अधिवेशनमार्फत नै नेतृत्वको टुंगो लगाउनुपर्नेमा जोड ।
-
पार्टी एकताका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने आह्वान ।
-
नयाँ कार्यदल गठन गरी विवाद समाधानको बाटो खोज्न सकिने प्रस्ताव ।
थप समाचारका लागि हेर्दै गर्नुहोला:
www.everestonlinekhabar.com


