Breaking News.... EverestOnlineKhabar
May 4, 2026

निर्वाचनको रोचक संयोग: ज्वाइँ–ससुराको ‘क्रस’ नतिजा, कोही संसदमा त कोही मैदानबाहिर

Loading

काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा अनेकौँ रोचक र अप्रत्याशित नतिजाहरू बाहिर ल्याएको छ। यसैक्रममा दुईवटा चर्चित राजनीतिक घरानाका ‘ज्वाइँ-ससुरा’ जोडीको चुनावी नतिजाले सबैको ध्यान खिचेको छ।

जहाँ एक जोडीमा ज्वाइँ विजयी हुँदा ससुरा पराजित भएका छन् भने अर्को जोडीमा ज्वाइँ पराजित हुँदा ससुरा सांसद बन्ने पक्का भएको छ।

विराजभक्त र शरतसिंह: ज्वाइँको उदय, ससुराको ‘ब्रेक’
काठमाडौँ क्षेत्र नम्बर ८ बाट भारी मतका साथ निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठ यतिबेला चर्चाको शिखरमा छन्। रोचक कुरा के छ भने, उनी पाका राजनीतिज्ञ तथा जनता समाजवादी पार्टी (जसपा) का नेता शरतसिंह भण्डारीका ज्वाइँ हुन्।

बहुदल आएपछि सबैभन्दा धेरै पटक मन्त्री बनेर रेकर्ड बनाएका भण्डारीका लागि यसपटकको निर्वाचन सुखद रहेन। आफ्नै ज्वाइँ आबद्ध दल ‘रास्वपा’ कै उम्मेदवारसँग महोत्तरी क्षेत्र नम्बर २ मा भण्डारी पराजित हुन पुगे। यसरी ज्वाइँ संसद छिर्दा दशकौँदेखि सत्ताको केन्द्रमा रहेका ससुरा भने यसपटक मैदानबाहिरै रोकिनुपरेको छ।

गगन र अर्जुननरसिंह: ज्वाइँलाई धक्का, ससुरालाई ‘समानुपातिक’ को साथ
अर्को रोचक संयोग नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरूबीच देखिएको छ। कांग्रेसका ‘फायरब्रान्ड’ नेता तथा सभापति गगन थापा यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित हुन पुगे। प्रत्यक्षतर्फको यो पराजय गगनका लागि अप्रत्याशित धक्का सावित भएको छ।

तर, उनका ससुरा तथा कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी भने पुनः संसद छिर्ने निश्चित भएको छ। प्रत्यक्षतर्फको प्रतिस्पर्धामा नभई केसी समानुपातिक सूचीमार्फत सांसद बन्न लागेका हुन्। कांग्रेसको समानुपातिक सूचीमा ‘खस आर्य पुरुष’ तर्फ पहिलो नम्बरमा रहेका केसीले प्राप्त मतका आधारमा आफ्नो सिट सुरक्षित गरिसकेका छन्। यसरी ज्वाइँ चुनावी दौडमा पछि पर्दा ससुरा भने संसदको रोष्ट्रममा पुग्ने भएका छन्।

संयोग कि राजनीतिक बदलाव?
यी दुई जोडीको नतिजाले नेपाली राजनीतिमा आएको नयाँ र पुराना शक्तिबीचको संघर्षलाई पनि प्रतिविम्बित गर्दछ। एकातिर नयाँ दलबाट ज्वाइँ (विराजभक्त) को विजयले परिवर्तनको संकेत गरेको छ भने अर्कोतिर पुराना र अनुभवी नेताहरूले पनि कुनै न कुनै रूपमा आफ्नो उपस्थिति जोगाइरहेको देखिन्छ।

यो संयोगले यतिबेला सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको छ। “राजनीतिमा कहिले ज्वाइँको पालो, कहिले ससुराको” भन्दै प्रयोगकर्ताहरूले टिप्पणी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed