![]()
एजेन्सी,३० जेठ ।
इरान विश्वकप फुटबलमा छनौट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २–० गोल अन्तरले हराउँदै इरान आउँदो वर्ष रसियामा हुने विश्वकप खेल्ने तेश्रो टिम बनेको छ । छनौट चरणबाट ब्राजिल तथा रसियाले आयोजकको नाताले विश्वकपमा यसअघि नै स्थान सुरक्षित गरेका छन् । इरान आउँदो वर्षको विश्वकपमा छानिने एसियाको पहिलो टिम हो । विश्वकप छनौटको तेश्रो चरणमा समूह ए मा छैटौं जित निकाल्ने क्रममा इरानले सोमबार राति उज्वेकिस्तालनई हराएको थियो । इरानको ८ खेलबाट २० अंक भएको छ ।
तेश्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंक छ । दक्षिण कोरियाको भने ७ खेलबाट १३ अंक छ । समूहका शीर्ष दुई टिम विश्वकपमा छनौट हुन्छन् भने तेश्रो स्थानको टोलीले चौथो चरणमा प्ले अफ खेल्न पाउँछ । विश्वकपको एशियाली छनौटको समूह बि मा रहेका इराक र थाइल्याण्डको भने विश्वकपमा छनौट हुने सम्भावना सकिएको छ । सन् १९७८ मा पहिलोपल्ट विश्वकप खेलेको इरान विश्वकपमा छनौट भएको यो पाँचौं अवसर हो । १९७८, १९९८, २००६ र २०१४ का विश्वकप खेलेको इरान समूह चरणबाट माथि उक्लिन सकेको छैन ।


