Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ पुस २७, तनहुँ । विद्युत् प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्न लागेको छ । विद्युत् लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष २०७६–७७ असार मसान्तभित्र सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार जिल्लाको दुई नगरपालिका र चार गाउँपालिका रहेका काठको पोल हटाएर स्टिल पोल राख्ने र नाङ्गो तार हटाएर कालो तारको व्यवस्था गरिनेछ ।

पोल राखिँदै क्षमता वृद्धि गर्ने, नयाँ ट्रान्सफर थप गरिनेछ । जिल्लाको भानु नगरपालिका–६, ७, ८ र ९ का बासिन्दालाई सामुदायिक ग्रामीण विद्युतीकरण सेवा सिसाघाट र वडा नं १०, १२, १३ मा लमजुङस्थित सूर्यपाल सामुदायिक विद्युत् उपभोक्ता समितिले विद्युत् वितरणको व्यवस्था गरेको छ भने बाँकी अन्य वडामा विद्युत् प्राधिकरणले नै काम गर्दै आएको उनले बताए । सदरमुकाम दमौलीमा छिन–छिनमा विद्युत् जाने समस्यालाई मध्यनजर गर्दै दमौली बजार क्षेत्रमा सिटिफिडर कायम गर्न लागिएको छ । दमौली हुँदै जिल्लाको केशवटार र रिसिङसम्म एउटै लाइन हुँदा समस्या रहेकाले एक महिनाभित्रमा पूर्णरूपमा लाइन जाने समस्या हट्ने इञ्जिनीयर चौधरीले बताए ।

बिजुलीको तार रुखमा छुँदा, हावापानी र चट्याङ पर्दा त्यसको असर सिधैँ सवस्टेशनमा पर्ने हुँदा विद्युत् जाने समस्या रहेकाले अब आउँदा दिनमा त्यस्तो नहुने गरी काम गर्न लागिएको उनले जानकारी दिए । विद्युत् प्राधिकरण कार्यालय तनहुँले स्मार्ट मिटरको अवधारणा ल्याउन लागेको छ । स्मार्ट मिटर जडानपछि मिटर रिडिङ गर्न घर–घरमा जानु नपर्ने, जनशक्तिको बचत, पारदर्शीता, यथार्थ विवरण हुनुका साथै विद्युत् चुवाहटमा नियन्त्रण गर्न सकिने भएकाले यस अवधारणालाई प्राथामिकतामा राखिएको कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर कुँवरले जानकारी दिए । कतिपय अवस्थामा मिटर हेर्न जाने कर्मचारी बिरामी हुँदा वा घर चिन्न नसकेर जान नसक्दा समस्या हुने गरेकाले स्मार्ट मिटरको व्यवस्थापछि यस्ता समस्याको अन्त्य गर्न सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed