Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

यो सत्य हो कि ‘सही पालनपोषण’ को कुनै परिभाषा वा निश्चित विधि हुँदैन । तैपनि, हेरचाह र पालन–पोषण सम्बन्धि सरसल्लाह र परामर्शले आफ्ना बच्चाहरूलाई खुसी बनाउन निकै सहयोगी भूमिका खेल्न सक्छन् । आउनुहोस्, बच्चाहरू हुर्काउनको निम्ति आवश्यक ती १० तरिकाहरू बारे जानौँ, जुन सद्गुरुले बताएका छन् । बच्चाहरूको सही पालन–पोषणका लागि परिस्थिति अनुसारको सोचाइ–बुझाइ हुन आवश्यक छ ।

निश्चय नै, सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन – चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया देखाउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस् हरेक बच्चासँग भिन्न–भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । सद्गरुले भनेका छन्, ‘मानौँ कि म नरिवलको रूखमुनि उभिएको छु अनि तपाई मसँग सोध्नुहुन्छ, ‘एउटा रूखमा कति पानी हाल्नुपर्छ ?’ मेरो जवाफ हुनेछ, ‘एउटा बोटमा कम्तीमा पनि पचास लिटर पानी चाहिन्छ ।’’ अब, यदि तपाईंले घर पुगेर गुलाफको बोटमा पनि पचास लिटर पानी हाल्नुभयो भने, त्यो अवश्य मर्नेछ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको घरमा केको बोट छ अनि उसलाई के आवश्यक छ ।

१. बच्चा तपाईंको निम्ति सौभाग्य होः
यो तपाईंको सौभाग्य हो कि खुसीको बहारको रूपमा बच्चा तपाईंमार्फत् त्यस घरमा आएको छ । बच्चाहरू तपाईंको सम्पत्ति होइनन्, उनीहरूमाथि अधिकार जमाउन नखोज्नुहोस् । उनीहरूलाई सहारा दिँदै हुर्काउनुहोस् अनि उनीहरूसँगको साथको आनन्द लिनुहोस् । तपाईं आफ्ना बच्चाहरूलाई भविष्यको लागि गरिने लगानी नबनाउनुहोस् ।

२. उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनुहोसः
उनीहरूलाई जे बन्नु छ, त्यही बन्न दिनुहोस् । तपाईंले जीवनलाई जुन रूपमा बुझ्नुभएको छ, त्यसलाई आफ्ना बच्चाहरूमाथि थोपर्ने प्रयास नगर्नुहोस् । तपाईंले आफ्नो जीवनमा जे–जति गर्नुभयो, तपाईंको बच्चाले पनि त्यही गर्न आवश्यक छैन । तपाईंका बच्चाहरूले केही यस्तो चीज गर्नुपर्छ, जसको बारेमा तपाईंले आफ्नो जीवनमा कल्पना गर्ने हिम्मत समेत गर्नुभएन । तबमात्र, यो संसार अघि बढ्नेछ ।

३. साँचो माया दिनुहोस, जे चीज माग्यो त्यही होइनः
मानिसहरूमा यो गलत बुझाइ छ कि बच्चाहरूलाई माया गर्नु भनेको उनीहरूको हरेक इच्छा पूरा गर्नु हो । उनीहरूले जे–जे माग्छन्, तपाईं सबैथोक दिँदै जान थाल्नुभयो भने, यो ठूलो मूर्खता हुनेछ । होइन र ? जब तपाईं स्नेह र प्रेमले भरिनुहुन्छ, तपाईं त्यही मात्र गर्न सक्नुहुन्छ जे आवश्यक छ । जब तपाईं कसैलाई साँच्चिकै माया गर्नुहुन्छ, तपाईं उसको नजरमा अप्रिय हुन तयार रहनुहुन्छ । साथै, तपाईं त्यही गर्नुहुन्छ, जे उसको लागि उत्तम हो ।

४. बच्चाहरूलाई ठूलो बनाउन हतार नगर्नुहोस्ः
एउटा बच्चालाई बच्चा नै हुन दिनुपर्छ । यो बालबच्चा हुर्काउने महत्वपूर्ण पाटो हो । बच्चालाई एकैचोटि जवान बनाउने हतार नगर्नुहोस्, किनकि पछि त्यसलाई उल्ट्याउन सकिँदैन । ऊ बच्चा छँदा, बच्चाको जस्तो व्यवहार गर्छ भने, यो राम्रो कुरा हो । तर, जवान भइसकेपछि पनि बच्चाको जस्तो व्यबाहर गर्न थाल्यो भने, त्यो उचित होइन । बच्चालाई आरामले हुर्किन दिनुहोस् बच्चा हतार–हतारमा जवान हुनुपर्ने कुनै आवश्यकता छैन ।

५. यो सिक्ने बेला हो, सिकाउने होइनः
आफ्ना बच्चाहरूलाई सिकाउनका लागि तपाईंले जीवन बारे के नै जान्नुभएको छ र ? आफ्नो बच्चालाई तपाईंले जीविको–पार्जनका केही तरिकाहरू मात्र सिकाउन सक्नुहुन्छ । एकपटक आफूलाई आफ्नो बच्चाहरूसँग दाँज्नुहोस् अनि हेर्नुहोस् त, को चाहिँ बढी आनन्दित छ ? तपाईंको बच्चा, होइन त ? यदि तपाईंभन्दा तपाईंको बच्चा बढी आनन्दित रहन सक्छ भने, जीवन बारे सल्लाह दिन को बढी सक्षम छ— तपाईं वा तपाईंको बच्चा ?

जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, यो केही सिक्ने समय हो, सिकाउने होइन । जब घरमा बच्चा आउँछ, नजानिकनै तपाईं हाँस्नुहुन्छ, खेल्नुहुन्छ, गाउनुहुन्छ, उसको लागि खाटमुनि पनि घिस्रिनु हुन्छ । तपाईं ती सबै चीजहरू गर्नुहुन्छ, जुन तपाईंले बिर्सिनु भइसकेको थियो । त्यसैले, यो जीवनको बारेमा सिक्ने समय हो ।

६. बच्चाहरू स्वाभाविक रूपमा आध्यात्मिक हुन्छन्ः
यदि बच्चाहरूलाई जथाभावी नसिकाइने हो भने, उनीहरू आध्यात्मिक सम्भावनाप्रति एकदमै नजिक हुन्छन् । सामान्यतया, कि त आमाबुबा, शिक्षकहरू, समाज वा टेलिभिजन अथवा कसै न कसैले उनीहरूमा केही न केही थोपरिरहेका हुन्छन् । यस्तो परिवेश सृजना गर्नुहोस्, जहाँ यस्तो बाहिरी हस्तक्षेप निकै कम हुन्छ— जहाँ, बच्चालाई कुनै धर्मसँग पहिचान स्थापित गर्नको लागि नभई आफ्नो प्राज्ञ वा बुद्धिमतामा बढ्न प्रोत्साहन गरिन्छ । त्यसबेला, अध्यात्म शब्द नजानिकनै बच्चा स्वतः आध्यात्मिक बन्दछ ।

७. प्रेम र सहाराले भरिएको वातावरण बनाउनुहास् ः
यदि तपाईं आफैँ डर, निराशा, रिस, जलन वा चिन्ताको उदाहरण बन्नुहुन्छ भने, तपाईं कसरी आफ्नो बच्चाबाट खुसी र आनन्द अपेक्षा गर्न सक्नुहुन्छ ? उनीहरूले पनि त्यही सिक्ने छन् । तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको माया, प्रेम, स्नेह, हाँसो र खुसीको माहोल सृजना गर्नु हो ।

८. बच्चालाई आफ्नो साथी बनाउनुहोस् ः
बच्चाहरूमाथि आफ्नो कुरा थोपर्ने काम बन्द गर्नुहोस् । साथै, उनीहरूको अगाडि हाकिम जस्तो व्यवहार गर्नुको सट्टा आफ्नो नजिकको साथी बन्नुहोस् । आफूलाई बच्चाभन्दा माथि राखेर उनीहरूमाथि शासन नगर्नुहोस् । बरु, आफूलाई उनीहरूभन्दा मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईंसँग सहज भई कुरा गर्न सकून् ।

९. मान–प्रतिष्ठा नखोज्नुहोस् ः
तपाईं आफ्नो बच्चाहरूबाट माया र प्रेम चाहनुहुन्छ, होइन र ? तर, थुप्रै आमाबुबाहरू यो भन्नुहुन्छ कि, ‘मेरो इज्जत गर्न सिक्नू ।’ तपाईं यो संसारमा केही समय अगाडि आउनुभयो, शारीरिक रूपमा तपाईं बच्चाभन्दा ठूलो हुनुहुन्छ, अनि तपाईंले जीवन निर्वाह गर्ने केही तरिकाहरू जान्नुभएको छ— योबाहेक अरू के कुरामा तपाईं आफ्ना बच्चाहरूभन्दा उत्तम हुनुहुन्छ, हँ ?

१०. बच्चाको आकर्षणको केन्द्र बन्नुहोस् ः
बच्चालाई थुप्रै कुराहरूले प्रभावित गरिरहेका हुन्छन्— परिवार, टेलिभिजन, छरछिमेक, शिक्षकहरू, विद्यालय अनि अरू लाखौँ चीजहरूले । बच्चालाई सबैभन्दा बढी जे आकर्षक लाग्छ, उसले त्यही पछ्याउँछ । अभिभावकको रूपमा तपाईंले आफूलाई यस्तो बनाउनुपर्छ कि उसलाई आफ्ना आमाबुबासँग समय बिताउने कुराले सबैभन्दा बढी आकर्षित गरोस् । यदि तपाईं आनन्दित, बुद्धिमानी र अद्भुत मानिस हुनुहुन्छ भने, उसले बाहिर अरूको साथ खोज्दैन । हरेक कुराको लागि, उसले तपाईंलाई नै सोध्ने छ ।

यदि तपाईं साँच्चिकै आफ्ना बच्चाहरूको निम्ति राम्रो हेरचाह र पालन–पोषण सुनिश्चित गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफूलाई एक शान्त, स्नेही र आनन्दित मनुष्यमा रूपान्तरण गर्नु अपरिहार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed