![]()
राजविराज : बालबालिका दुरुपयोग गरेको अभियोगमा प्रहरीले डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका चारजना कार्यकर्ता पक्राउ गरेको छ। राजविराज नगरपालिका ११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, १९ वर्षीय सरोजकुमार यादव, सप्तकोसी नगरपालिका-१० का १९ वर्षीय अविनाश पण्डित र तिलाठी कोइलाडी गाउँपालिका-२ का २८ वर्षीय सुशिल मण्डललाई ‘बालबालिका ऐन २०७५’ अन्तर्गत ‘बालबालिका दुरुपयोग कसुर’ मा पक्राउ गरेको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
एसपी विष्टका अनुसार विद्यालय जाने उमेरका बालबालिकालाई उक्साई प्रलोभनमा पारी पोस्टर टाँस्ने लगायतको,कार्यक्रममा सहभागी गराएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
विद्यालय उमेरका स-साना बालबालिकालाई पोस्टर टाँस्न लगाउँदै गरेको अवस्थामा पोस्टर र ‘फ्रि मधेस’ लेखिएको व्यानर समेत बरामद भएको एसपी विष्टले जानकारी दिए। बलिदान दिवस मनाउने क्रममा शनिबार चारैजनालाई राजविराज ११ स्थित झल्ही पुल नजिकैबाट पक्राउ गरिएको थियो।


