![]()
प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने ? विषय सामान्य थियो। सरकारका काम कारबाहीबारे प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा झण्डै १ घण्टाको वक्तव्य दिए। विपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रतिप्रश्नका लागि सभामुखसँग समय माग्यो। तर, सभामुख कृष्णबहादुर महराले समय दिने ‘ढंग’ नपुर्याएपछि एकैछिनमा विपक्षी कांग्रेस नाराबाजी र अवरोधमा उत्रियो भने विपक्षीको अवरोधबीच सदनको कारवाही अघि बढ्यो।
महरा सभामुख भएदेखि पटक पटक चुक्दै आएका छन्। त्यसको पछिल्लो उदाहरण आइतबार प्रतिनिधिसभामा देखापर्यो। विपक्षीले समय मागिसकेपछि या त सभामुखले बोल्न नदिने आफ्नो अडानमा अडनुपर्थ्यो, या त बोल्नै दिनुथियो भने स्थिति भड्किन दिनु हुँदैनथ्यो’, सत्तासीन नेकपाका एक नेताले भने, ‘ सभामुखले ढंग नपुर्याउँदा दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो।’ सभामुख महराले प्रश्न गर्न दिने भन्दै बैठकअघि नै कांग्रेसका तर्फबाट ५ जना नेताको नाम लिइसकेपछि ‘बोल्न दिन्न’ भन्नु आश्चर्यजनक हो’, कांग्रेस सांसद गगन थापाले भने।
महासमिति बैठकपछि सरकारविरुद्ध ‘आक्रामक’ देखिएको प्रमुख प्रतिपक्ष कांग्रेससँग मिलेर जाने प्रधानमन्त्री ओलीको सन्देशले विपक्षी पनि ‘नरम’ हुने अनुमान गरिएको थियो। प्रतिपक्षलाई झटारो हान्ने र आक्रामक बनाउने भन्दा प्रधानमन्त्री ओलीको आइतबारको वक्तव्य तुलनात्मक रूपमा ‘नरम’ थियो। तर संसद्मा एकैछिनको घटनाले सत्ता र विपक्षीबीच ‘कन्फोर्टेसन’को अवस्था सिर्जना गर्यो। ‘राष्ट्र निर्माणमा मिलौं भन्ने तर सदनमा प्रधानमन्त्रीसँग प्रश्न गर्नै नदिने ? ’ सांसद थापाले भने, ‘यो शैलीले सदन चलाउने कुरा कांग्रेसले स्विकार्दैन।’ प्रधानमन्त्री ओलीको वक्तव्यलगत्तै कांग्रेसका डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत सांसदले प्रधानमन्त्रीसँग प्रतिप्रश्न गर्न भन्दै आआफ्नो ठाउँमा उठेर सभामुख महरासँग समय मागेका थिए। सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न छुट्टै कार्यक्रम राखिने तर सार्वजनिक महत्त्वको वक्तव्यमा प्रश्न गर्न नदिने भन्दै कांग्रेसका सांसदलाई यथास्थानमा बस्न आग्रह गरे।
कांग्रेस सांसदहरूले सार्वजनिक महत्त्वको वक्तव्यमाथि प्रश्न गर्न मिल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको भन्दै प्रतिप्रश्न गर्न पाउनुपर्ने अडान राखे। डा.रिजालले ‘संसद् सञ्चालन गर्दा सभामुखको मर्यादाअनुकूल गर्नुपर्ने’ बताए। सभामुख महराले पनि सभामुखको अनुमतिले मात्र सार्वजनिक महत्त्वको प्रस्तावमा प्रश्न गर्न मिल्ने भन्दै आफूले अनुमति नदिएको जानकारी गराए।
कांग्रेसका सांसदहरूले प्रतिप्रश्न गर्न पाउनुपर्ने अडान राख्दै होहल्ला गरे। त्यतिबेला कांग्रेसका सबै सांसद कुर्सीबाट उठेर सभामुखविरुद्ध आक्रोश पोखिरहेका थिए। कांग्रेस सांसद आक्रोशित बनेपछि सभामुख महरा अडानबाट पछि हटे। प्रधानमन्त्रीसँग प्रश्न गर्न सीमित सांसदलाई मात्र अवसर दिने भन्दै कांग्रेसका डा.रिजाललाई बोल्न समय दिए। तर, प्रतिष्ठाको विषय बनाइसकेको कांग्रेसले सबै सांसदले प्रश्न गर्न पाउनुपर्ने भन्दै थप आक्रोश पोख्यो।
कांग्रेसको यस्तो अडानपछि सभामुख महराले ‘प्रश्न गर्न अनुमति भएन’ भन्दै सदनको कारवाही अघि बढाउन खोजे। त्यसपछि कांग्रेसका सांसद रोस्ट्रममा उभिएर नाराबाजीमा उत्रे। विपक्षीको अवरोधबीच सभामुख महराले अर्थ समिति सभापति कृष्णप्रसाद दाहाललाई निवृत्तिभरण कोष विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्न अनुमति दिए। विपक्षीको नाराबाजीबीच समितिको प्रतिवेदन पेस भयो।
सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरे। तर, कांग्रेस थप आक्रोशित बनेपछि सहमति जुट्न सकेन र बैठक पुनः बस्ने अवस्था नै बनेन। विपक्षीका प्रश्नको जवाफ दिने ‘मुड’मा रहेका प्रधानमन्त्री ओली पनि संसद्बाट बाहिरिए। बैठक २५ गतेसम्मका लागि स्थगित गरियो। ‘न सभामुखको ढंग पुग्यो, न त सभामुखको रुलिङ मान्दैनौं भन्ने कांग्रेसको अडान नै राम्रो भयो’, सत्तासीन नेकपाका एक नेताले भने।


