![]()
काठमाडौं : फिल्म ‘जय श्री दाम’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ। सोसियल कमेडी जनराको फिल्मको निर्माण टिमले यसअघि नै पहिलो हाफको १५ मिनेट प्रिभ्य नै रिलिज गरेर प्रचारमा नयाँ प्रयोग गरेको छ। पहिलो १५ मिनेटलाई दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिएका छन्।
विप्लव उप्रेतीको निर्देशनमा बनेको फिल्ममा जेबिका कार्की, अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, विष्णु सापकोटालगायत लिड रोलमा छन्। पछिल्लो क्रममा भित्रिँदो कमेडी सिनेमामा आफ्नो फिल्मले नयाँ आयाम बोकेको दाबी निर्देशक उप्रेतीको छ। ‘लिड कलाकार पनि सबै पछिल्लो पुस्ताका छन्, हामीले नेपाली फिल्ममा प्रयोग हुँदै आएको कमेडीमा पनि केही फरकपना जोड्ने कोसिस गरेका छौं’, उप्रेतीले भने।
आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो भेटपछि उत्पन्न हुने परिस्थिति वरिपरि फिल्म घुमेको निर्माण टिमले बताएको छ। अमेरिकामा रहेर फिल्म अध्ययनमा स्नातक गरिसकेका निर्देशक उप्रेतीको ठूलो पर्दाको पहिलो निर्देशकीय फिल्म भएका कारण पनि फिल्मलाई आशाको नजरमा हेरिएको छ।
‘फिल्म मेकिङमै आफ्नो पढाइ निरन्तरता दिँदै गर्दा सोही सिकाइ र बुझाइलाई समेटेर नै निर्देशनमा हात हालेको हुँ’, उप्रेती सुनाउँछन्। लामो समयदेखि सम्पादनमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका मित्र डी गुरुङ यो फिल्मबाट निर्माता बनेका छन्। मित्रसँगै सिनेमाटोग्राफर रविन आचार्य पनि सहनिर्माता छन्।
निर्देशक उप्रेतीसँगै अमरद्वीप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा संगीत सुशान्त गौतमको छ। नेसनल मिडिया प्रोडक्सन, मंकी टेम्पल प्रोडक्सन र क्रेजी ह्यान्डस् प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता पृथ्वी उप्रेती र मनोज उप्रेती छन्।
‘फिल्मले उठाएको कन्टेन्ट र प्रस्तुतिमा हामी कन्फिडेन्स छौं’, निर्देशक सुनाउँछन्, ‘लो बजेटमा पनि यो प्रकारको फिल्म निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि ‘जय श्री दामले दिन्छ।’ देशभरका ५० बढी हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई गोविन्द शाहीले वितरण गर्दैछन्।


