![]()
काठमाडौं । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले पुरुष ७५ केजी स्वर्ण जितेका हुन् ।
१२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो ।
गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।


