Breaking News.... EverestOnlineKhabar
May 1, 2026

तीन वर्षभित्र देशका सवै भू–भागमा बिद्यूतीय सेवा पुर्याउने गरी काम गर्न उर्जा मन्त्रीको निर्देशन

Loading

बारा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसँग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

उनले प्राधिकरणलाई आर्थिक, सेवा प्रवाह, उत्पादन र सञ्चालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिए । आफूले ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गरे ।

उनले विद्युत प्राधिकरणका सबै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिए ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले देशमा ५ वर्षमा चाहिएजति विजुली दिन सरकार सक्षम रहेको भन्दै आगामी तीन वर्षभित्र देशका सवै भुभागमा विद्युत सेवा पुर्याउने सरकारको लक्ष्यलाई ध्यान दिन समेत आग्रह गरे ।

मन्त्री पुनले विद्युत प्राधिकरणको बोर्ड बैठकले प्राधिकरणलाई संघीय संरचनामा लान कार्यदल बनाइसकेको जानकारी समेत उक्त अवसरमा दिए । उनले प्राधिकरणमा कसैको मुख हेरेर काम गर्ने भन्दा पनि कार्यसम्पादन हेर्ने र परिणामलाई आधार बनाएर मुल्यांकन गर्ने अवस्था आउनुपर्नेमा जोड दिए ।

उनले सरुवा र बढुवाका लागि मन्त्री र कार्यकारी निर्देशक कहाँ जानुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी समेत गरे । मन्त्री पुनले सरकार एजेण्डा आर्थिक विकास र समृद्धिको रहेको भन्दै आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले त्यसका लागि प्रशारण र वितरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए । मन्त्री पुनले ट्रान्सफर्मर नपाएको, मिटर समयमा नपाइएको लगायतका गुनासाहरु बढी आउने गरेको भन्दै सेवाग्रहीको समस्यालाई ध्यानमा राखेर काम गर्न समेत निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed