Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेपाली हवाई यात्रुको बिमा रकम अब १ करोड ८० लाख, ब्यागेज हराए प्रतिकिलो ७ लाखसम्म क्षतिपूर्ति

Loading

काठमाडौं । हवाई मार्गबाट विदेश आवतजावत गर्ने नेपाली यात्रुको बिमा रकम मंसिर २९ बाट  प्रतियात्रु १ लाख ५६ हजार ७८ अमेरिकी डलर (१ करोड ७९ लाख ४८ हजार ९ सय ७० रुपैयाँ) भएको छ । यो रकम ६३ वर्षपछि वृद्धि भएको हो ।

संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’  शनिबारबाट नेपालमा पनि कार्यान्वयनमा आएपछि नेपाली हवाई यात्रुको बिमा रकम उक्त परिमाणबराबर भएको हो । यो कन्भेन्सन कार्यान्वयनमा ल्याएको नेपाल १३५औं मुलुक हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार ‘मोन्ट्रियल कन्भेन्सन, १९९९’ मा हवाई दुर्घटनामा यात्रुको मृत्यु भए उसका परिवारलाई अधिकतम १ लाख १३ हजार १ सय ‘एसडीआर’ क्षतिपूर्ति दिनुपर्ने छ । एसडीआर भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मुद्राको मूल्य हो । यस हिसाबले १ एसडीआरबराबर भनेको मंसिर २८ गतेको विनिमय दरअनुसार १ दशमलव ३८ अमेरिकी डलर हुन आउँछ । अब १ लाख १३ हजार १ सय एसडीआरबराबर १ लाख ५६ हजार ७८ डलर हुन्छ । यसलाई नेपालीमा मुद्रामा परिणत गर्दा १ करोड ७९ लाख ४८ हजार ९ सय ७० रुपैयाँ हुन्छ ।

त्यसैगरी कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ, ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ हजार १ सय ३१ एसडीआर अर्थात् १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तथा तोकिएको समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ४ हजार ६ सय ९४ एसडीआर अर्थात् ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने छ ।

मन्त्रिपरिषदको गत साउन पहिलो साता बसेको बैठकले मोन्ट्रियल कन्भेन्सन कार्यान्वयन गर्ने प्रस्तावलाई संसद पठाउने निर्णय गरेको थियो । त्यसपछि संसदमा यसबारे दफावार छलफल भएको थियो । त्यसपछि पर्यटन मन्त्री रविन्द्र अधिकारीले ‘अन्तर्रष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ मुलुकको हकमा स्पष्ट गरेको घोषणासहित पारित गरियोस् भनी उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको पक्षमा बहुमत सदस्यले हुन्छ भनेपछि सभामुख महराले भदौ ७ गते उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed