![]()
काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठकमा १४ सयभन्दा बढी महासमिति सदस्यहरु सहभागी हुने भएका छन्। संघीय संरचनाअनुसार कांग्रेसको कार्यसमिति नभएको हुँदा बैठकमा विगतकै निर्वाचन प्रणालीअनुसार महासमिति सदस्यहरु सहभागी हुनेछन्।
संघीय संरचनाअघि कायम दुई सय ४० निर्वाचन क्षेत्रबाट महासमिति सदस्य छनोट भएका छन्। प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जना सहभागी हुनेछन्। त्यसअनुसार १२ सय प्रतिनिधि हुनेछन्।
भ्रातृ, जनसम्पर्क र शुभेच्छुक संगठनबाट ५४/५४ का दरले सदस्यहरु सहभागी हुने हुनेछन्। कांग्रेसको विधानअनुसार जनसम्पर्कबाट एक समिति बराबर तीन जना सहभागी हुने व्यवस्था छ। नेपाली कांग्रेसका १३ भ्रातृ संस्था छन् भने १७ वटा शुभेच्छुक संस्था रहेका छन्। महासमिति बैठक पुस ३ गते सकिनेछ।
नेपाल महिला संघ, तरुण दल, विद्यार्थी संघ, किसान संघ, दलित संघ, भूतपूर्व सैनिक संघ, प्रजातातन्त्र सेनानि संघ, आदिवासी जनजाति संघ कांग्रेसका भ्रातृ संस्था हुन्। त्यसैगरी लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, मुस्लिम संघ, राष्ट्रिय मगर संघ र ठाकुर समाज पनि कांग्रेसका भ्रातृ संगठन हुन्।
औपचारिक सुरुवात २९ बाट
शुक्रबारबाट सुरु हुने भनिएको महासमिति बैठकको औपचारिक सुरुवात शनिबारबाट हुने भएको छ। २८ गते केन्द्रीय कार्यलयमा महासमिति सदस्यहरुलाई स्वागत गर्ने बताइएको छ। साथै, सहभागीलाई बैठकको दस्तावेज प्रदान गरिने तथा नामावली रजिष्ट्रेसनको काम हुनेछ।
बासको व्यवस्था आफैं गर्नुपर्ने
खर्च कम गर्ने उद्देश्यले व्यवस्थापन समितिले साँझको खाना र बासको व्यवस्था आफैं गर्नुपर्ने जनाएको छ। सहभागीहरुले साँझ चिया सहितको नास्ता, अपरान्ह खाना र दिउँसो चिया प्राप्त गर्नेछन्।


