![]()
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर– २ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरी सक्रियताबारे आईजीपी सर्वेन्द्र खनालसँग सांसदहरुले जवाफ मागेका छन् । संसदको दिगो विकास र सुशासन समितिको वैठकमा सासंदहरुले आईजीपी खनालसँग अनुसन्धान प्रगतिबारे जवाफ माग गरेका हुन् ।
सासंद चक्र स्नेहीले भने,‘‘निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै न्याय पाइन्छ ?’’ स्नेहीले निर्मला हत्याको सत्यतथ्य बाहिर ल्याउन माग गरे ।
सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए ।
आईजीपी खनाललाई नै आरोप लगाउँदै सासंद रायमाझीले भने, ‘‘शक्तिशाली व्यक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको छ । आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएका छन् । यस्तोमा न्याय कसरी पाइन्छ ?’’
सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको संज्ञा दिए । उनले भने,‘‘प्रहरीको उज्यालो छवि धमिलिएको त होइन ? प्रहरी दाँत बिनाको कुकुर किन बन्यो ? ’’
सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन माग गरिन् । उनले भनिन्,‘‘निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईंले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।’’
सासंदको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले पछिल्लो समय मुलुकमा भएको अपराधमा अधिकांश घटनाको अनुसन्धानमा प्रहरी सफल भएको बताए । निर्मला हत्याकाण्डको अनुसन्धानमा कतिपय प्रमाण नष्ट भएको अवस्थामा अनुसन्धान जटिल बनेको स्वीकार गर्दै ढिलोचाँडो हत्यारा कानुनी दायरामा ल्याइछाड्ने बताए ।
सासंदहरुले अनुसन्धानमा आईजीपीले दबाब दिएको प्रश्नको जवाफमा खनालले भने,‘‘मैले अनुसन्धानका क्रममा कसैलाई दबाब दिएको प्रमाणित हुन्छ भने ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ । अनुसन्धान निश्पक्ष र दबाबरहीत छ ।’’
निर्मला हत्याकाण्डको अनुसन्धानको चिन्ताले आफूलाई निद्रै लाग्न छाडेको बताउँदै अनुसन्धानमा प्रहरीको दक्ष र विज्ञ टोली परिचालन गरिएको बताए ।


