![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिए।
सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको बताउदै प्रधानमन्त्रीले भने, ‘तपाईंहरुको सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ।’
‘समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो’, प्रधानमन्त्री ओलीले भने ‘यसमा सरकार प्रतिवद्ध छ। सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ।
प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ। प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताए।


