Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जी २० सम्मेलन: संरक्षणवादको विरोध, ट्रम्प नीतिको आलोचना

Loading

बीबीसी । । आर्जेन्टिनामा शुरु भएको जी ट्वेन्टी (जी२०) समूहमा आबद्ध देशहरूको शिखर सम्मेलनमा उदाउँदा ठूला अर्थतन्त्रहरूले व्यापारमा संरक्षणवादको विरोध गरेका छन्। राजधानी बुनेस आइरेसमा जारी सम्मेलनमा चीन, भारत, रुस, ब्रजिल र दक्षिण अफ्रिकाले विश्व व्यापार संगठन डब्लुटिओलाई अझै बलियो बनाउनु पर्ने बताएका छन्।

संरक्षणवादको विरोध गर्ने क्रममा उनीहरूले नाम किटान नगरेपनि अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिको आलोचना गरेको संवाददाताहरूको विश्लेषण छ। जी२० को बैठकमा चीन र अमेरिकाबीच चर्किएको व्यापार युद्धको मुद्दाले पनि प्राथमिकता पाउने आकलन गरिएको छ।

बैठकमा सहभागी अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग पनि बैठक गर्ने बताएका छन्। बैठकमा जलवायु परिवर्तनका विषयमा विवाद भएको छ। त्यसै कारण बैठकपछि जारी हुने वक्तव्यका शब्दावलीमा सहमति हुन नसक्ने चिन्ता गरिएको छ।

विवाद र असहमतिका बीच जी२० सम्मेलनको उद्घाटन सत्रमा आर्जेन्टिनाका राष्ट्रपति मौरिसियो माक्रीले सबै विवाद र असहमतिको समाधान छलफलबाट मात्र हुने र त्यसका लागि सबैको उत्तिकै जिम्मेवारी रहने बताए। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी नौसैनिक पानी जहाजमाथि रुसी हस्तक्षेपको भर्त्सना गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेट रद्द गरिसकेका छन्।

जलवायु परिवर्तन व्यापार र साउदी पत्रकार जमाल खशोग्जीको विषयमा उल्लेख्य मतभेदहरू अझै बाकी नै छन्। विश्वको दुई तिहाइ जनसंख्या र विश्व अर्थतन्त्रको ८५ प्रतिशत आर्थिक उत्पादन गर्ने १९ ठूला औद्योगिक राष्ट्रहरू र युरोपेली संघ जी२० समुहमा छन्।

सन् २००८ मा पहिलो पटक जी२० सम्मेलन भएको थियो। सो सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले विभिन्न अन्तरराष्ट्रिय समस्याहरूको छलफल र तिनको समाधानका लागि नीति नियमहरू बनाउने अवसर पाउँदछन्। सम्मेलनमा सहभागी विश्व नेताहरूको सुरक्षार्थ बुनेस आइरेसमा शुक्रवार ब्याङ्क र सो शहरका मुख्य व्यापारिक क्षेत्रहरू बन्द गरिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed