![]()
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनै पर्ने बताएका छन् ।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा सभापति देवाले प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताएका हुन् ।
‘हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्, उनले भने ।
दलका अध्यक्ष जीतजंग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागि पर्ने बताए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा विसं २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।


