![]()
काठमाडौं ।दशैं, तिहार, छठ र नेपाल सम्वतका बेला शान्तिसुरक्षाका लागि काठमाडौंमा मात्र ३ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालन गरिएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वका लागि विशेष सुरक्षा योजना सार्वजनिक गर्दै, विशेष सुरक्षा योजना अन्तर्गत ६ क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ।
सर्वसाधारणको घर सम्पति, व्यक्तिगत सुरक्षा, विशिष्ठ व्यक्ति, शक्तिपिठ तथा मठ मन्दिरहरु, सार्वजनिक यातायात, बैंक तथा वित्तिय संस्था, ब्यापारी क्षेत्र, काठमाडौं उपत्यका प्रवेश नाका, गेष्टहाउस तथा होटललाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
चाडवाडमा आर्थिक पक्षसँग सम्बन्धित अपराधका घटना चोरी, लुटपाट, डकैति, पकेटमारी, सिक्री लुट्ने, विषाक्त मदिरा सेवन, झै–झगडा, गुण्डागर्दी, जुवा तास, ट्राफिक नियम उल्लघंन, कालोबजारी, दुर्घटना र ठगी बढी हुने भएकाले यस्ता अपराधमा विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ।
काठमाडौंको मुख्य प्रवेश नाका नागढुङ्गा, टोखा, मुड्खु, रामकोट, फर्पिङ लगायतका क्षेत्रमा कुकुर सहितको नियमित सुरक्षा चेकजाँच गर्ने जनाइएको छ। चाडवाडको सुरक्षाका लागि काठमाडौंलाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ, ३६ साइकल गस्ती, ३० वटा हतियार सहितको मोटरसाइकल गस्ती र २४ वटा मोटरगस्ती तयार पारिएको छ।


