Breaking News.... EverestOnlineKhabar
May 3, 2026

Loading

बीबीसी । अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्। ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ। आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।

आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो। लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिए पनि कैयौँ गएनन्। फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्। उनले हाल घरमै रहिरहेका मानिसहरूलाई अब भने बाहिर ननिस्कन भनेका छन्।

स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्। फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ। छेउछाउका एलाबामा तथा जोर्जिया राज्यले पनि त्यस्तै स्थितिको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा राखिएका दृश्यहरूमा बाढी तथा हुरीले निम्त्याएका विनाशका तस्विर देखिन्छन्।

संघीय प्रकोप व्यवस्थापन निकायका निर्देशक ब्रक लङ्गले राष्ट्रपतिलाई उनी खासगरि सन् २००१ भन्दा अगाडि निर्माण गरिएका भवनहरूप्रति चिन्तित रहेको बताए किनकी तिनले क्याटगोरी थ्री वा ज्यादा शक्तिशाली आँधी थेग्न सक्दैनन्।

यसबीच भारतको पूर्वी राज्य उडिसामा तितली नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेको भन्दै अधिकारीहरूले तटीय क्षेत्रका तीन लाख मानिसलाई त्यहाँबाट अन्यत्र सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed