Breaking News.... EverestOnlineKhabar
April 30, 2026

म्यानमारमाथि नेपालको शानदार जित, ३० रनको लक्ष्य तीन ओभरमै पूरा

Loading

काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्र छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन नेपालले ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । सन्दीपले दुई ओभरमा ३ रन दिएर ४ विकेट लिँदा ललितनारायणले ३ ओभरमा २ मेडन राख्दै तीन रन दिएर ३ विकेट लिए ।

मध्यम गतिका बलर करण केसी र ललितसिंह भन्डारीको नाममा १–१ विकेट रह्यो । म्यानमारका ६ ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । कप्तान हटेट लिन अङले बनाएको १६ रन नै म्यानमारको इनिङमा बनेको सबैभन्दा ठुलो स्कोर हो ।

३० रनको सानो लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरमै प्रदीप ऐरीलाई पहिलो विकेटको रुपमा गुमायो । अर्का ओपनर अनिलकुमार शाह पनि ११ रन बनाएर पवेलियन फर्किए । विनोद भन्डारी १ रनमा अविजित रहे भने करण केसी १४ रनमा अविजित रहे ।

पहिलो जितसँगै २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । समान २ अंक भए पनि थाइल्यान्ड रनरेटका आधरमा शीर्ष स्थानमा छ । २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

नेपालले अब शनिबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो तीन ट्वान्टी–२० खेलमा नेपाल २ मा विजयी भएको छ भने एकमा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed