![]()
बीबीसी । म्यानमारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । बेलायती समाचार समिति रोयटर्सका दुईजना समाचारदातालाई म्यानमारको राजधानी यांगुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो ।
समाचार सम्प्रेषण गर्नेक्रममा राज्यको गोप्य सूचना चुहाएको र कानुनहरुको उल्लंघन गरेको आरोपमा ती दुई पत्रकारलाई म्यानमार सरकारले पक्राउ गरेको थियो ।
पत्रकारद्वय वा लोन र क्या सो उलाई रिहा गरी पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले बताएका छन् ।
ती पत्रकारहरुको रिहाइका लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि उनले बताए । यसैबीच, रोयटर्सले आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरुमाथि झुटो अभियोग लगाइएको जनाएको छ ।


