![]()
आगामी असार मसान्तभित्र पुँजी वृद्धि गर्नुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी वृद्धि गर्न चटारो परेको छ अहिले । अधिकांश वाणिज्य बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गाभेर तोकिएको अवधिभित्रै पुँजी वृद्धि गर्न सक्ने संकेत देखाएका छन् । तर, केही बैंकहरुलाई भने अझै चुनौती नै रहेको बताइन्छ ।
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवि नेपाल नियुक्त भएपछि दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुलाई चार गुना पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएका थिए । आगामी असार मसान्तमा त्यो अवधि सकिँदैछ । सुरुका दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशनप्रति विमति जनाउँदै आए पनि पछिल्लो समयमा भने निर्देशन पालना गर्दै पुँजी वृद्धिमा जोड दिएका छन् । पुँजी वृद्धिकै लागि बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुनेदेखि सेयर निस्काशन गर्नेसम्मका काममा लागेका छन् ।
करिब अढाई दर्जन ठूला बैंकहरुमध्ये केही बैंकले मात्र पुँजी वृद्धि गर्न सकेका छैनन् । तर, पुँजी वृद्धि गर्न नसकेका बैंकहरुले पनि तोकिएको मितिमै पुँजी वृद्धि गर्ने गरी तीव्र गतिमा काम गरिरहेको राष्ट्र बैंकको सूत्रले बतायो । यही सन्दर्भमा एभरेस्ट बैंकले अरु बैंकसँग मर्ज तथा एक्विजिसन गर्नका लागि विशेष साधारण सभा बोलाएको छ । सो बैंकले पुँजी वृद्धिकै लागि ३३ प्रतिशत हकप्रद सेयर निस्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।
सो बैंकको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख रहेको छ । अब सो बैंकले ३ अर्ब ४० करोड पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । सो बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको सेयरलाई सर्वसाधारण समूहमा परिणत गर्न पनि लागिपरेको छ । यसैगरी, पुँजी वृद्धि गर्न नसकिरहेको सिभिल बैंक, जनता बैंक र सेञ्चुरी बैंकले पनि पछिल्लो समय पुँजी वृद्धिका लागि निकै कसरत गरिरहेको बताइन्छ ।
यसैगरी, पुँजी वृद्धिकै लागि प्राइम कमर्सियल बैंकसँग विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंकको एक्विजिसन प्रक्रिया अगाडि बढेको छ भने मेघा बैंकमा टुरिजम् डेभलपमेन्ट बैंकको मर्ज हुँदैछ । यसैगरी, सेञ्चुरी विकास बैंकमा अल्पाइन, इन्नोभेटिभ, अरनिको विकास बैंकका साथै सगरमाथा फाइनान्स मर्ज हुँदैछ ।


