![]()
काठमाडौं । नेकपा एमालेमा एक नम्बर प्रदेशको मुख्यमन्त्रीको दौडमा तीन आकांक्षी देखिएपछि शीर्ष नेताहरुलाई तनाव भएको छ ।
भीम आचार्य, शेरधन राई र जीवन घिमिरेले मुख्यमन्त्रीका लागि आ–आफनो लबिङ बढाएपछि नेताहरुलाई व्यवस्थापनमा समस्या भएको छ । उनीहरुले छुट्टछुट्टै पत्रकार सम्मेलन गरी मुख्यमन्त्री नछाड्ने अडान राखेका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका आचार्य र ओली पक्षका राईले मुख्यमन्त्रीकै आशमा प्रदेश सभाको चुनाव लडेका हुन् । नेपाल पक्षकै उमेदवार रहेको दावी गरिरहेका घिमिरेले पनि आफू ‘ब्याक’ हुने अवस्थामा नरहेको बताए ।
आचार्य र राई केन्द्रीय राजनीतिमै प्रभाव राख्ने नेता हुन् । आचार्य एमालेका १ नम्बर प्रदेश इन्चार्ज र केन्द्रीय सचिव हुन् भने राई एमाले पोलिटव्यूरो सदस्य तथा एक नम्बर प्रदेशका सहइन्चार्ज हुन् ।
अध्यक्ष केपी ओलीले राईलाई मुख्यमन्त्रीका लागि बचन दिइसकेको तथा नेता माधव नेपाल र झलनाथ खनालले पनि राई हुँदैन भन्न नसकेकाले उनको पल्लाभारी देखिन्छ । नेता राईले आचार्य र घिमिरे ब्याक नभए निर्वाचनका माध्यमबाट भएपनि आफू चुनिने दाबी गरेका छन ।


