![]()
काठमाडौं । पार्टी एकताको अन्तिम तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद बाँडफाँडमा गलफत्ती भएको छ । प्रदेश सरकार निर्माण र मुख्यमन्त्री चयनमा कार्यदल मात्र नभइ शीर्षस्तरमै कुरा मिल्न नसकेपछि एकता प्रक्रियामै ढिलाइ उत्पन्न भएको छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल पनि मुख्यमन्त्रीका बिषयमा कुरो नमिल्दा निष्कर्षमा पुग्न सकेन । एमालेले प्रदेश १, ३, ४, ५ र ६ मा आफै मुख्यमन्त्रीको दाबी गरेको छ । प्रदेश नम्बर ७ मा मात्रै माओवादीलाई मुख्यमन्त्री दिन एमाले तयार देखिन्छ ।
सहमतिका लागि दाहाल निवास खुमलटार पुगेका एमाले अध्यक्ष ओली दाहालको अडानपछि निराश हुँदै फर्केका थिए । उनले मुख्यमन्त्रीमा एमालेले लिएको अडान स्वीकार गर्न नसकिने जवाफ फर्काएका थिए ।
प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदल लगातार गृहकार्यमा भएपनि मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न असफल भएको छ ।


