![]()
झापा । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको भावी राष्ट्रपतिका लागि प्रस्ताव आए त्यसलाई अस्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले मुलुक र जनताका लागि राष्ट्रपति भएर पनि धेरै काम गर्न सकिने भएकाले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेऊ भनेर नमस्कार गर्दै नहिँड्ने प्रतिक्रिया दिनुभयो ।
परिवर्तित राजनीतिक अवस्थामा भावी राष्ट्रपतिमा खनालको चर्चा भैरहेकाबेला स्यवं खनालको अभिव्यक्ति बाहिर आएको हो । नेता खनाललाई राष्ट्रपति हुन एमाले र नेकपा माओवादी केन्द्रबाट दबाब बढ्दै गएको छ ।
नेता खनालले आफनो निम्ति मुलुक र जनता सबैभन्दा ठूलो भएकाले राष्ट्रपति बनाइ दिन पर्यो भनेर कसैले नमस्कार गरेर चाहिं आफू नहिंड्ने प्रष्ट पार्नुभयो । नेता खनालले भन्नुभयो, ‘ म सक्रिय मान्छे हुँ, निरन्तर सक्रिय रहन्छु, राष्ट्रपति भए पनि म चुप लागेर बस्नेवाला छैन । चुप लाग्नका लागि म राजनीतिमा आएको होइन ।’
पूर्व प्रधानमन्त्री खनालले माओवादी केन्द्रसंग पार्टी एकताका लागि घनिभूतरुपमा छलफल भैरहेकाले चाँडै निष्कर्षमा पुग्ने जानकारी दिनुभयो । को प्रधानमन्त्री हुन र को पार्टी अध्यक्ष हुने भन्ने कुराको पनि छिटै छिनोफानो हुने उहाँले बताउनुभयो ।

खनाल बिहीबार बुद्ध एयरलाइन्सबाट झापा हुँदै ईलाम जाँदै हुनुहुन्थ्यो । निर्वाचन पछीको पहिलो अभियानमा उहाँ ईलाम र ईलाम क्षेत्र नम्बर १ को बिबिध कार्यक्रममा सहभागि हुनुहुनेछ ।


