![]()
काठमाडौ,पुस ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आगामी सरकारको नेतृत्व लिन चौतर्फी दवाव परेको छ । वि.सं २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल भएको एनेकपा माओवादी विभिन्न टुट, फुट र राजनीतिक अवरोहपश्चात् माओवादी केन्द्रका रूपमा अस्तित्व जोगाइराख्न अहिलेसम्म सफल देखिएको छ । यस दलको आकार र शक्ति घटे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना भने २०७० सालको निर्वाचनपछि जस्तै २०७४ सालको निर्वाचनपछि पनि देखिएको छ ।
नेपालको संविधान, २०७२ सम्पूर्णरूपमा कार्यान्वयन गर्ने निर्वाचनको रूपमा हेरिएको २०७४ सालको प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम आउँदा तेस्रो दल हुन पुगे पनि दाहालको राजनीतिक प्रभाव भने कम भएको छैन । नेकपा एमालेसँग कम्युनिस्ट गठबन्धन बनाएर अघि बढेका दाहालले आफूले सोचेभन्दा ज्यादा मत ल्याए भने गठबन्धन करिब दुई तिहाइ बहुमतको हाराहारीमा पुग्यो ।
यति भए पनि एमाले एक्लैको साधारण बहुमत नपुग्ने र अरू सबै दल मिलेको खण्डमा एमालेलाई सरकारबाट बाहिर राख्न सक्ने संभावनाका आधारमा दाहालको राजनीतिक महत्त्व बढेर गएको हो । नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले दाहाललाई आउँदो पूरै पाँच वर्षका लागि प्रधानमन्त्री पदमा समर्थन गर्ने सार्वजनिक भएसँगै अब मधेसवादी दलले पनि उनलाई प्रधानमन्त्री बन्न दबाब दिएको स्रोतको भनाई छ । नेपाली कांग्रेस तथा तराईका राजनीतिक दलले दाहाललाई प्रधानमन्त्री बन्न आग्रह गरेको स्रोतको दावी छ ।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अध्यक्ष दाहालको निकटतम सम्बन्धमा रहेका छन् भने राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू राजेन्द्र महतो तथा महेन्द्र राय यादवले पनि उनलाई भेटेर संविधान संशोधनको मुद्दामा साथ दिने हो भने प्रधानमन्त्री बनाउन तयार रहेको जानकारी गराएका छन् ।


