![]()
सिरियालाई सहयोग गर्नबाट रोक्न रुसमाथि थप नाकाबन्दी लगाउनुपर्ने प्रस्ताव सातवटा औद्योगिक राष्ट्रको समूह जी सेभेनका विदेशमन्त्रीहरुले अस्वीकृत गरेका छन्।
सिरियादेखि टाढा बस्न मस्कोलाई मनाउने प्रयासमा अमेरिकी विदेशमन्त्री रुस जानुअघि जी सेभेनका विदेशमन्त्रीले इटलीको लुका शहरमा सिरियाली द्वन्द्वबारे साझा धारणा बनाउने प्रयास गरेका थिए।
राष्ट्रपति बशर अल असाद सत्तामा रहुञ्जेल सिरियाली संकटको समाधान ननिस्किनेमा ती मुलुकहरु सहमत भएका छन्।
तर हालैको रासायनिक हमलापछि रुस र सिरियाका निश्चित सैन्य अधिकारीहरुविरुद्ध प्रतिबन्ध लगाउनुपर्ने ब्रिटेनको प्रस्तावमा सहमति जुट्न सकेन।
आक्रमण
इड्लिब प्रान्तमा सिरियाली फौजले गरेको रासायनिक हमलामा ८९ जना मारिएका थिए।
हामी आइएस वा अन्य आतंकवादी समूहहरुको हातमा पुग्ने गरी सिरियाली सत्तासँग रासायनिक अस्त्रहरुको अनियन्त्रित भण्डारण भएको चाहंदैनौं जसका कारण ती समूहले हाम्रो देश वा हाम्रा साझेदारमाथि आक्रमण गर्न सकून्।
रेक्स टिल्लर्सन, विदेशमन्त्री, अमेरिका
विद्रोही नियन्त्रित खान शेखुन शहरमा भएको आक्रमण सरकारी फौजले नगरेको सिरियाली सरकारले दावी गर्दै आएको छ।
रासायनिक हमलाको जवाफमा अमेरिकाले एउटा सिरियाली हवाई अखडामा ५९ वटा क्रुज क्षेप्यास्त्र आक्रमण गरेको थियो।
जी सेभेन बैठकको अन्त्यपछि बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले “अमेरिकाको राष्ट्रिय हितका लागि क्षेप्यास्त्र आक्रमण आवश्यक” भएको बताए।
अनियन्त्रित
उनले भने, “हामी आइएस वा अन्य आतंकवादी समूहहरुको हातमा पुग्ने गरी सिरियाली सत्तासँग रासायनिक अस्त्रहरुको अनियन्त्रित भण्डारण भएको चाहंदैनौं जसका कारण ती समूहले हाम्रो देश वा हाम्रा साझेदारमाथि आक्रमण गर्न सकून्।”
सिरियामाथि क्षेप्यास्त्र आक्रमण गर्ने अमेरिकी कदमलाई रुसले “हिंसात्मक” भन्दै निन्दा गरेको थियो।
यद्यपि उसले अमेरिकी विदेशमन्त्रीको मस्कोमा स्वागत गर्दैछ।
मंगलबार अबेर टिल्लर्सनले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्ने तय भएको छ।
यद्यपि राष्ट्रपति पुटिनसँग उनको भेटवार्ताको सम्भावनालाई पनि नकार्न सकिंदैन।


