Breaking News.... EverestOnlineKhabar
February 9, 2026

Loading

नयाँ शैक्षिकसत्र शुरु हुँदै गर्दा विद्यालय तहका पाठ्यक्रम अनुसारका पुस्तक छाप्ने प्रकाशक र कतिपय निजी विद्यालयबीच ‘कमिसन’का नाममा मोलमोलाइ हुन थालेको पाइएको छ।
जानकारहरुका अनुसार यस्तो मोलमोलाइकै कारण वास्तविक मूल्यभन्दा कैयौं बढी रकम तिरेर किताब खरिद गर्न विद्यार्थी र अभिभावकहरु बाध्य भएका छन्।
प्रकाशकले आफूहरुले छापेको पुस्तक बेच्ने विद्यलय सञ्चालकलाई कमिसन वापत निश्चित रकम दिने गरेको बताइन्छ।
कतिपय ठाउँमा त उनीहरुले निजी विद्यालयको संगठनका भवन लगायतका संरचना बनाउन पनि सघाएका छन्।
उदाहरण
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीको भवन निर्माणकन लागि बुद्ध पब्लिकेशन काठमाण्डूले करिब ६० लाख रुपैयाँ खर्च गरेको बताइएको छ।
पब्लिकेशनले गरेको उक्त खर्च वापत उसले प्रकाशन गरेको गणित विषयको पुस्तक प्याब्सन रुपन्देहीका सदस्य विद्यालयहरुले आफ्नो पाठ्यक्रममा राख्दै आएका छन्।
सबै कुरा यथार्थ हो, नलिइ नदिइ केही हुनेवाला छैन
एक जना पुस्तक प्रकाशक
पुस्तक प्रकाशक तथा निजी विद्यालयबीच भित्र-भित्रै हुने लेनदेनको त्यो एउटा उदाहरण मात्रै हो।
प्रकाशकहरुका अनुसार आफ्ना पुस्तक प्रयोगमा आउन भनेर निजी विद्यालय आबद्ध संघ संस्थादेखि प्रायः हरेकजसो विद्यालयसँग यतिबेला छुट्टा-छुट्टै मोलमोलाइ चलिरहेको छ।
विद्यालय
आफ्नो नाम उल्लेख नगर्न भन्दै एकजना प्रकाशक भन्छन्, “सबै कुरा यथार्थ हो, नलिइ नदिइ केही हुनेवाला छैन।”
आँफ्नो आँखाले देखिएको छैन, खुला कमिसन हुन्छ भन्ने सुनेको छु, भित्री रुपमा के के हुन्छ थाहा भएन
टेकबहादुर थापा , जिल्ला शिक्षा अधिकारी, रुपन्देही
उल्लंघन
नियमन गर्ने निकाय शिक्षा कार्यालय र विद्यालय आबद्ध संघसंस्थाबीच रुपन्देहीमा हरेक शैक्षिकसत्र शुरु हुनुभन्दा करिब दुई महिना अगाडिनै पुस्तकको टुंगो लगाउने सहमति भएको थियो।
त्यसपछि प्रत्येक विद्यालयमा खरिद गरिनुपर्न किताबको सूची सार्वजनिक गर्ने सहमतिमा उल्लेख थियो।
तर अझै पनि कैयौं विद्यालयले कुन कुन किताब खरिद गर्नुपर्ने हो भन्ने सूची सार्वजनिक गरेका छैनन्।
कतिपय स्थानमा विद्यालयमा कम्प्युटर प्रयोगशाला बनाइदिनुपर्ने, कम्प्युटर किनिदिनुपर्ने अनि विदेश घुमाइदिनुपर्ने लगायतका शर्त राखिने गरेको सुनेका छौँ,
लोकनाथ ज्ञवाली, अध्यक्ष, अभिभावक संघ रुपन्देही
पुस्तक प्रकाशकसँगको मोलतोलकै कारण त्यस्तो ढिलाई भएको हुनसक्ने अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली बताउँछन्।
उनी भन्छन्, “कतिपय स्थानमा विद्यालयमा कम्प्युटर प्रयोगशाला बनाइदिनुपर्ने, कम्प्युटर किनिदिनुपर्ने अनि विदेश घुमाइदिनुपर्ने लगायतका शर्त राखिने गरेको सुनेका छौँ, बढी लेनदेनकै लागि विद्यालयले अन्तिमसम्म पनि किताबको सूची सार्वजनिक नगरेका हुन्।”

बचाउ
प्याब्सनका प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्ण खनालले पनि क्षेत्र क्षेत्रमा मोलमोलाइ हुने गरेको हल्ला सुनेको बताउदै त्यसका लागि पुस्तक प्रकाशकहरु जिम्मेवार रहेको बताए।
उनीहरुले आफ्नो लगानीबाट दिंदैनन्। नाफाबाट नै दिने गरी विभिन्न समूहलाई दिएका हुन सक्छन्
कृष्ण खनाल, अध्यक्ष, प्याब्सन प्रदेश नम्बर पाँच
उनले भने, “घाटा हुने गरी उनीहरु काम गर्दैनन्, जति मूल्य राख्नुपर्ने हो त्योभन्दा बढी नाफाको पैसा राख्ने गरेका छन्। उनीहरुले आफ्नो लगानीबाट दिंदैनन्। नाफाबाट नै दिने गरी विभिन्न समूहलाई दिएका हुन सक्छन्।”
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले यस्तो गलत काम विद्यालय सञ्चालक तथा प्रकाशकले गर्न नहुने बताए।
भित्र-भित्र हुने त्यस प्रकारका गतिविधिको जानकार शिक्षा कार्यालय नहुने बताउँदै उनी भन्छन्, “आँफ्नो आँखाले देखिएको छैन, खुला कमिसन हुन्छ भन्ने सुनेको छु, भित्री रुपमा के के हुन्छ थाहा भएन।”
बीबीसीका बुटवल संवाददाता माधव नेपाल भन्छन्, “यो एउटा जिल्लाको मात्र नभएर देशभरनै फैलिएको समस्या हो।”
उनका अनुसार विद्यालय र प्रकाशकबीचको यस्तो मोलमोलाइको मूल्य आखिरमा अभिभावकले चुकाउनु परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.