गण्डकीमा १३ को रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि

582 total views, 3 views today

२०७६ चैत १५, पोखरा । कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिए । उनले बाँकीको रिपोर्ट केही दिनमा आउने बताए । यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । एघार दिनअघि भारतको हैदराबादबाट आएका नेपालीलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए ।

उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको थियो । उनको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल पठाएको थियो । शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार