![]()
२०७६ फागुन १३, दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कसले कसलाई छिड्की हानेर ढलाउने भन्ने होडबाजीमा रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले केपी र प्रचण्डबीचमा त्यो झेल र खेल भइरहेको दाबी गरे । दुईजना डराएका र लोभी व्यक्तिबीच रातारात एकता भएकाले अहिलेको अवस्था आएको तर्क गरे ।
एउटा घिउ बेचुवा र अर्को तरबार बेचुवाबीचको जस्तो सम्बन्धबाट पार्टी एकता गरिएको भए पनि त्यो पार्टी भन्न लायक नभएको थापाको भनाइ छ । ‘प्रचण्डलाई चितवनबाट पनि चुनाव हार्छु भन्ने डर, केपीलाई एमाले एक्लैले जित्दैन भन्ने डर,’ थापाले भने ‘ दुई जना डराएका मनहरूको डरले र लोभले रातारात दुई जनालाई एक ठाउँमा ल्याइदियो ।’ उनले प्रधानमन्त्री ओली आजको दिनमा शासन गर्न उपयुक्त नरहेको जिकिर गरे । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले दुई महिना अगाडि त्यो सुनेको भए पनि त्यो ढाकछोप गरेकाले र त्यो थाहा नपाएको हो भने पनि आफ्नो भान्साभित्र भएको त्यत्रो कुरा थाहा नपाउनेले अन्य केही कुरा थाहा पाउने हैसियत नराख्ने हुँदा प्रधानमन्त्री राजनीतिक र नैतिक रूपमा पतन भइसकेको थापाले बताए ।
गिरिजाप्रसाद कोइरालाले थालनी गरेको शान्ति र संविधानको यात्रालाई सबैभन्दा ठूलो डर नेकपाकै सरकारबाट रहेको उनको जिकिर छ । केहीदिन पहिलेमात्रै प्रधानमन्त्रीले केही डरबारे चर्चा गरेको प्रसंग जोड्दै नेता थापाले भने, ‘यो संविधानलाई जसले अविष्कार र्गयो डर उनीहरूबाट रत्तिभर छैन । पूर्वराजा हामी विभिन्न ठाउँमा घुमेको देख्छौं उहाँबाट पनि यो संविधानलाई कुनै डर छैन । हाम्रो लागि सबैभन्दा दुर्भाग्य यो संविधानको कसम खाएको, यो संविधानका आधारमा भएको निर्वाचनवाट सबैभन्दा ठूलो दल बनेको नेकपाबाट आज यो संविधानलाई सबैभन्दा ठूलो डर छ ।’
संविधान निर्माण गर्ने सकसपूर्ण लामो अवधिमा नेपाली कांग्रेसको एउटा साथीको रूपमा नेकपा एमाले रहेको र त्यसले माओवादीले आफ्ना एजेन्डा लाद्न खोज्दा शक्ति सन्तुलन कायम गर्न सजिलो हुने गरेको भए पनि आज फरक अवस्था आएको थापाले बताए । एमाले र माओवादी मिलेपछि एमालेमा रहेको लोकतन्त्रप्रतिको प्रतिवद्धता माओवादीले ग्रहण गर्नु पर्नेमा उल्टो अवस्था बनेको उनको बुझाइ छ । एमालेको अनुदार चरित्र माओवादीले ग्रहण गरेको र माओवादीको त्यस्तै नराम्रो चरित्र एमालेले ग्रहण गरेको थापाले बताए ।


