Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ फागुन ११, काठमाडौं ।
कलकत्ते काईंयो
केश मेरो बाङ्गो टेबलमा ऐना छ
पिरती मैले नलाको हैन
तकदिरमा रैनछ…
धानकै बाला झुलाउँला
मायालाई बोलाउँला….

नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर बङ्गली कलाकारले जब मञ्चमा स्वर भरे, तब खुट्याउनै गाह्रो भो । धक फुकाएर लोकलयमा नेपालको चर्चित गीत प्रस्तुत गर्दा माहोल नै नेपालमय बन्यो । नेपाली मौलिक पोशाकमा ठाँटिएका बङ्गाली कलाकारले नेपाली झैँ हाउभाउसमेत लोकलयमै अभिव्यक्त गरे । गीतको रसमा डुब्दै दर्शकले हात र कम्मर हल्लाउँदै कलाकारलाई साथ दिएको दृष्य निकै लोभलाग्दो देखिन्थ्यो । केही बेरमा फेरि अर्को चर्चित नेपाली गीतको धुन बज्यो ।

रेशम फिरिरि, रेशम फिरिरि
उडेर जाउँ कि डाँडामा भञ्ज्याङ
रेशम फिरिरि…

यस गीतमा बङ्गाली कलाकारसँगै हलमा उपस्थित सबै एकैसाथ गाउन थाले । सिङ्गो हल नै बेसरी गुञ्जियो । लाग्थ्यो कुनै ठूलै साङ्गीतिक अभ्यास चल्दैथियो । ढोलक, मादल, सारङ्गी र टुङ्नाको धुनले जति गीतमा रस भरेको थियो, त्यति नै विदेशी कलाकारको उत्साहित आवाजले थप सुमधुर बनाएको थियो । गीतमा रम्दै नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते शाम्सले फुरुङ्ग हुँदै तालीले गीतको प्रशंसा गरे । रौसिएका कलाकार झन मग्न भएर झुम्न थाले । कालजयी र विश्व चर्चित यो गीत हरेक विदेशी र स्वदेशीको कण्ठमा बसेको छ । कतिपय विदेशीले यस गीतको लय र सङ्गीतको रसलाई आफ्नै सुरमा रेकर्ड गर्न भ्याएका छन् । दर्शकले सेल्फी खिचेर चिनो राखे ।

नेपाली कलाकार पनि बङ्गाली गीत गाएर पाहुनालाई मख्ख पारे । फरक भाषा, सङ्गीत र सुरको धुनमा ‘सोनो सोनो, बकुल फूल बकूल फुल, बउल सङ, लोक बोले बोले रे, मधु होइ होइ ।।’ गीत संयुक्तरुपमा पस्किए । बङ्गलादेशी कलाकारलाई नेपालीले लय मिलाउन साथ दिए । पालैसँग कला संस्कृतिको साटासाटसँगै साङ्गीतिक साटफेरमा कलाकार रमे । हलमा दुई देशका कलाकार थिए भन्ने कसैले भेउ पाउन सकेनन् । बङ्गलादेशका कलाकारले वीर रसले ओतप्रोत क्रान्ति र स्वाधीनताका गीत गाएर दर्शकमा थप ऊर्जा भरे ।

नेपाल र बङ्गलादेश युवा सम्मेलनका लागि काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा सहभागी दुई देशका १०० बढी युवाले शनिबारको संयुक्त सांस्कृतिक कार्यक्रममा दर्शक दीर्घाबाटै संयुक्त नृत्यको साथ पाए । दर्शक गीत सङ्गीतको तालमा झुम्न थाले । भाषा नबुझे पनि सङ्गीतको इशारा काफी बन्यो । कलाकारले संयुक्त बाजामा दुई देशका गीत संयुक्तरुपमै सुनाए । बङ्गाली गीतमा नेपालीले नाचेर साथ दिए भने नेपाली गीतमा बङ्गलीले । गायक, गायिका र सङ्गीत भने संयुक्त थियो । झण्डै एक दर्जन गीतमा यो क्रम जारी नै रह्यो ।

यस्ता कार्यक्रमले जनस्तरबाटै दुई देशको सांस्कृतिक सम्बन्ध थप बलियो हुने राजदूत शाम्सले बताए । अघिल्लो दिन शुक्रबार नै कलाकारले एकअर्काका गीतको अभ्यास गरेकाले उनीहरुले उक्त स्टेजमा सहजसँग गीत पस्किए । संयुक्त प्रस्तुतिमा दुवै देशका कलाकारको राम्रो सहकार्य थियो । अझै नेपाली मौलिक पोशाकमा सजिएका बङ्गाली कलाकारको चमक बेग्लै देखिन्थ्यो । नेपाल–बङ्गलादेशको भाषा, संस्कृति, रहनसहन, भौगोलिक अवस्था र खानपानसमेत मिल्दोजुल्दो छ । विकासका दृष्टिमा पनि उस्तैउस्तै छ । त्यसैले सम्मेलनका सहभागिता पनि फरक देखिँदैनथ्यो ।

कलाकारले अघिल्लो दिन चन्द्रागिरि गएर नेपाली र बङ्गाली गीतको संयुक्त अभ्यास गरको थिए । शुक्रबार साँझ नेपालस्थित बङ्गलादेशी दूतावासमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले एकअर्काका गीत सङ्गीतको प्रस्तुतिमा निखारता थियो ।

सांस्कृतिक कार्यक्रममा बङ्गलादेशबाट कलकार मसुद आलम (दोतारा), अनुपम विश्वास (दोतारा), एसके आवु जाफोर (बाँसुरी), बाउल गारिब, मोक्तर, कालिम शाह (ढोलक), शेख दिना (एकतारे), अब्दुल अल ममुन, अवन्ती, मेहरिन मसुद, माहिर मसुदलगायत सहभागी थिए । धेरै कलाकार बङ्गलादेश टेलिभिजनका थिए । उनीहरुलाई नेपाली कलाकार गायिका कृतिका राईसहित विशाल नकर्मी (सारङ्गी), अस्मिता भट्टराई (सारङ्गी), सुमन कश्यप (मादल), सुमन नगरकोटी (मादल), उपेन्द्र शाही (टुङ्ना) ले साथ दिएका थिए ।

सबै गीतमा दुवै देशका दर्शक बसेकै स्थानबाट नाचेर साथ दिए भने तालीसँग ‘वान्स मोर’को हुटिङ गरिरहे । हलमा दुई देशका प्रतिनिधिको छनक थिएन । उनीहरुले एकअर्काका संस्कृति साटासाट गरेको हलमा प्रष्ट देखिन्थ्यो । यस्ता कार्यक्रमले संस्कृति साटासाट, एकअर्कामा भाइचाराको विस्तार र दुई मुलुकबीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने सम्मेलन आयोजक समितिका संयोजक अभिनभ चौधरी बताउँछन् ।

युवा विकास केन्द्र, सरसफाइ, वातावरण तथा ऊर्जा नेपाल, दक्षिण एशिया पाटनरसीप (साप) नेपालको आयोजना तथा नेपालस्थित बङ्गलादेश राजदूतावासको समन्वयमा शनिबारदेखि जारी दुईदिने तेस्रो ‘नेपाल बङ्गलादेश युवा सम्मेलन’मा दिगो विकास लक्ष्य, उद्यमशीलता, सामाजिक विकास, जलवायु परिवर्तन, सुशासनलगायत विषयमा छलफल भइरहेको छ । सम्मेलनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गरेका थिए ।

नेपाल र बङ्गलादेशबीच हरेक वर्ष यस्ता पाँचरसात सम्मेलन हुँदै आएको आयोजक समितिका सल्लाहकार पदमराज जोशीले बताए । जोशीले यस्ता संयुक्त कार्यक्रमले सांस्कृतिक सम्बन्धको विकाससँगै जारी नेपाल भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण सहयोग मिल्ने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed