![]()
२०७६ माघ १५, काठमाडौँ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौँको राष्ट्रिसभागृहमा हुन गइरहेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङसम्बन्धी वर्कसप दिने भएका छन् । ‘फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा आयोजना हुने वर्कसपमा हलिउडसँगै नेपालका फिल्ममेकरले पनि आफ्नो अनुभव सेयर गर्नेछन् । हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको फिल्म फेस्टिभलका निर्देशक केपी पाठकले बताए ।
ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन ः फस्ट क्लास, थोर, कोडी ब्याङ्क्स आदि फिल्म निर्माण गरेका छन् । जोयलोन होफ भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रूपमा काम गरेका व्यक्ति हुन् । स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले विश्वको अनुभव नेपाली फिल्म मेकरलाई बाँड्ने पाठकको भनाइ रहेको छ । ‘नेपालमा सक्रियता पूर्वक काम गरिरहेका लेखक, निर्माता, निर्देशकले यो वर्कसपबाट धेरै फाइदा लिनुहुनेछ’, पाठकले थपे ।
दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको छोटो कक्षासमेत लिनेछन् भने एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्व बजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्म मेकरसँग बहसमा सहभागी हुनेछन् । हलिउड फिल्म मेकरको सेसन भने राष्ट्रिय सभा गृहमा नभई लाजिम्पाटको ¥याडिसन होटलमा हुनेछ । वर्कसपमा सहभागी हुन चाहाने फिल्मकर्मीले पहिले नै नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।


