Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ पुस २१, सिमकोट । स्याउ खेतीका लागि बिरुवा उत्पादनमा हुम्ला आत्मनिर्भर हुने भएको छ । किसानहरुले हुम्लामै स्याउका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरेका छन् । ती नर्सरीबाट बिरुवा बिक्री वितरण हुन थालेका छन् । चंखेली गाउँपालिका वडा नम्बर १ का सरजन बुढाले नर्सरीबाट तीन हजार भन्दा बढी बिरुवा बिक्रीको सम्झौता भएको छ । गाउँपालिकाको कृषि शाखा र अर्को एक गैरसरकार संस्थासँग माघ महिनामा बिक्री गर्ने गरी सम्झौता भएको र अब केही दिनमा बिरुवा नर्सरीबाट निकाल्ने तयारी रहेको उनले बताए । प्रति बोट स्याउको बिरुवा ४५ रुपैयाँमा बिक्री गर्ने गरी सम्झौता भएको हो ।

सोही वडामा स्याउका बिरुवा उत्पादन गर्ने अर्का किसान हुन् नन्दबहादुर शाही, उनको नर्सरीमा पनि स्याउका चार हजार भन्दा बढी बिरु तयारीमा छन् । उनको स्याउका बिरुवा पनि गाउँपालिकाले खरिद गरिसकेको छ । चंखेली गाउँपालिकामा मात्र आधा दर्जन भन्दा बढी किसानहरुले स्याउ नर्सरी सञ्चालन गरेका छन् । यस वर्ष बीस हजार भन्दा बढी स्याउका बोट चंखेलीबाटै उत्पादन भएर बिक्री हुने तयारीमा रहेको शाहीले बताए । हुम्ला जिल्लाका लागि एक वर्षमा ३० हजार स्याउका बिरुवा आवश्यक पर्छ । सिमकोट गाउँपालिकामा चारजना किसानहरुले नर्सरी स्थापना गरेर स्याउका बिरुवा बिक्रीको तयारी गरेका छन् । यस्तै अदानचुलीमा पनि तीनवटा नर्सरी स्थापना भएर बिरुवा उत्पादन भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed