![]()
काठमाडौ,१६ जेठ ।
चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए। उनले भनेः‘चुनाव मिति सार्ने सरकारको निर्णय सकारात्मक छ। यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ ।’
चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुन सक्ने उनले बताए। राजपाका दोस्रो तहका नेता मनीष सुमनले भने सरकारी निर्णय राजपाका लागि हर्ष न बिस्मात् भएको प्रतिक्रिया दिए। उनले भनेः‘हाम्रो माग संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको वृद्धि गर्नुपर्छ भन्ने हो। यो माग पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मात हो ।’
सरकारले चुनाव मिति सार्नुमा राजपाको आन्दोलनको मनोवैज्ञानिक जित भएको पनि उनले बताए।
राजपाका अर्का एक नेताले भने चुनाव मिति यसरी सर्दै गएमा मंसिरसम्म पनि पुग्ने सक्ने बताए। प्रमुख तीन दल र राजपाका नेताहरूबीच आइतबार भएको छलफलपछि सरकारले दोस्रो चरणको चुनाव असार ९ गते सार्ने निर्णय गरेको हो। यसबारे पार्टीको औपचारिक धारणा बनाउन राजपाका अध्यक्ष मण्डलको बैठक मंगलबार बस्ने भएको छ। बैठकले आन्दोलनका कार्यक्रम पुनरावलोकन गर्ने सम्भावना रहेको राजपाका नेता झाले बताए।


