![]()
जनकपुर,१२ जेठ ।
धनुषाको जनकनन्दनी गाउँपालिका–१ मा घरमा चर्पी नभएका दुई परिवार समस्यामा परेका छन् । घरमा चर्पी नबनाएको भन्दै एकै गाउँका दुई जना महिला घर छाडेर माइत गएर बस्न थालेका छन् । विभिन्न संघसंस्थाले संयुक्त रुपमा गाउँपालिका नै खुल्ला दिशामुक्त गर्ने अभियान चलाइरहेका बेला घरमा चर्पी बनाउने कामले तिव्रता पाएको छ ।
अधिकांश घरधुरीमा चर्पी निर्माण भईसक्दा पनि आफ्नो घरमा नबनाएको भन्दै स्थानीय राजकुमार पासवानकी श्रीमती मञ्जु पासवान एक साताअघि माइत गएकी हुन् । श्रीमान राजकुमारले घरमा चर्पी बनाउन ध्यान नदिएको र रक्सी खान पल्केको भन्दै मन्जु आफ्नो माइत भारतको बिहार मधुवनी जिल्लाको बैजनाथपुरमा भागेर बसेकी हुन् । श्रीमती भागेपछि राजकुमारले एक सातामा घरमा जसोतसो सजिलो चर्पी निर्माण गरेर खबर पठाए पछि श्रीमती मन्जु बिहीबार घर फर्किन् ।
यस्तै राजकुमारकै छिमेकी रामदीपक पासवानकी श्रीमती सरस्वती पासवान झण्डै १० दिनदेखि घरमा चर्पी नभएकोले माइतमा गएर बसेकी छन् । सरस्वतीको श्रीमान रोशनदीप वैदेशिक रोजगारीमा खाडी मुलुक मलेसियामा छन् । घरमा ससुरा वुबा डोमा पासवानले चर्पी बनाउन ध्यान नदिएको कारण बुहारी सरस्वती आफ्नो माइत धनुषाको पचहर्वामा गएर बसेकी स्थानीय काकाससुरा पर्ने श्याम पासवानले जानकारी दिए ।


