Breaking News.... EverestOnlineKhabar
February 6, 2026

जेठ ४ गते संविधान संशोधन गर्ने तयारी

Loading

काठमाडौ,बैशाख ।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल लगायतका असन्तुष्ट दलहरुको माग सम्वोधन गर्न जेठ ४ गते संविधान संशोधन गर्ने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते नै संविधान संशोधन विधेयक अगाडि बढाउने आश्वासन मधेसी मोर्चाका नेताहरूलाई दिएका छन्। सरकारसँगको पूर्व सहमतिअनुसार संविधान संशोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिएका मोर्चाका नेतालाई दाहालले ुजेठ ४ गतेसम्म पर्खिदिनु आग्रह गरेका छन्।
संविधान संशोधन नभई दोस्रो चरणको निर्वाचनमा भाग नलिने र चुनाव पनि हुन नदिने मोर्चाका नेताहरूको चेतावनीपछि प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सरकार प्रतिबद्ध रहेको स्पष्टीकरण दिएका हुन् । प्रमुख विपक्षी एमालेसहित मोर्चाका नेताहरूसँग मंगलबार बालुवाटारमा भएको छलफलमा दाहालले चैत १७ गतेको संसद् बैठकबाटै संविधान संशोधन हुने निश्चितजस्तै देखिएका बेला राप्रपाका कारण संशोधन हुन नसकेको प्रष्टोक्ति मोर्चाका नेताहरूलाई दिएका थिए।
‘त्यसदिन एमालेबिनै संशोधनका पक्षमा ४ सय १ पुगेको थियो तर राप्रपाका १० जना सांसद अनुपस्थित भएपछि संशोधन प्रस्ताव रोकिएको हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भनेः‘ फेल भएको भए राष्ट्रलाई हानि हुन्थ्यो । त्यसैले संशोधन सार्न लगाइएको हो ।’
अब जेठ ४ गते बस्ने संसद् बैठकबाट संशोधन अघि बढाउने आश्वासन दिँदै दाहालले आन्दोलनका कार्यक्रम घोषणा नगर्न मोर्चाका नेतासँग आग्रह गरे। ‘मधेसमा मारिएकालाई सहिद घोषणा, मुद्दा फिर्ता र संविधान संशोधन अघि बढाउँदैछौं । यति धेरै काम गर्दा पनि शंका गर्ने ?’ प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिएः‘अब पनि शंका गर्नुभयो भने अन्याय हुन्छ ।’ मोर्चाका नेता राजेन्द्र महतोले भने नौ महिना कुर्दा पनि सकारात्मक उपलब्धि नभएको भन्दै अब मोर्चा चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए। नेम्वाङले भने मोर्चासँगको छलफलमा एमालेलाई सहभागी नगराउने र बाहिर एमाले संशोधनको विपक्षमा रहेको भन्ने हल्ला चलाउने गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.