![]()
देशकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग आइतबारबाट शुरु हुदैँछ।
नेपालका शहरहरूको नाममा छ वटा टोली खेल्ने उक्त लिग प्रतियोगिताको विजेताले १५ लाख रुपियाँ हात पार्नेछ भने उपविजेताले ७ लाख रुपियाँ प्राप्त गर्ने आयोजकहरूले बताएका छन।
उद्घाटनपछिको पहिलो खेलमा पारस खड़्काको नेतृत्वमा रहेको नेपाल ११ र धनगढी ११ बीचको मैत्रीपूर्ण खेलबाट उठ्ने रकम क्षेत्रीय क्रिकेट रंगशालाको निर्माणका लागि हस्तान्तरण गरिने बताइएको छ।
खेलाडीहरुका लागि झण्डै ५२ लाख रुपियाँ खर्च गरिएको उक्त प्रतियोगितामा पुरस्कार राशि मात्रै २७ लाख रहेको बताइएको छ।
क्रिकेटलाई अझ योजनावद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउन भन्दै धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल ऐकेडेमीले उक्त लिगको आयोजना गरेका हुन्।
एक जना आयोजक शुवास शाही भन्छन्, “पहिलो पटक हामीले नेपालमा खेलाडीहरु लिलामीबाट खरिद गरिने प्रणाली थाल्यौ, यस पटक खेलाडीहरुले प्रतियोगिता अवधिभर झण्डै ५२ लाख रुपियाँ कमाउनेछन्।”
नेपाली क्रिकेट खेलको क्षेत्रमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको यो प्रतियोगितामा पुरस्कारमा मात्रै २७ लाख रुपियाँ खर्च हुने आयोजकहरूले बताएका छन्।
प्रतियोगितामा सहभागी टोलीहरुको कम्तानी नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले गरिरहेका छन्।
टिम चौराहा धनगढीको नेतृत्व राष्ट्रिय कप्तान पारस खड्काले गरेका छन् भने सीवाईसी अत्तरियाको ज्ञानेन्द्र मल्ल र विराटनगर किङ्सको कप्तानीको जिम्मेवारी शरद भेषवाकरले पाएका छन्।
यसैगरी काठमाण्डू गोल्डेन्सको वसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारीले नेतृत्व गरिरहेका छन्।
अवसर
नेपाल टिमका कप्तान पारस खड्का पहिलो पटक सम्पूर्ण राष्ट्रिय टोलीका खलाडीहरु सुदूरपश्चिम क्षेत्रको मैदानमा उत्रिन लागेको बताउँछन्।
उनी भन्छन्, “नेपालको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता यही नै हो, मानिसहरुको उत्साह र क्रिकेटको माहौल तातेको देख्दा हामी खेलाडीहरु एकदमै उत्साहित छौँ।”
राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकरले सुदूरपश्चिम क्षेत्रमा सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुनु देशकै गौरव भएको बताएका छन्।
धनगढीका एक जना क्रिकेट खेलाडी पदम केसीले राष्ट्रिय टोलीका खेलाडीहरुसँग एउटै मैदानमा खेल्न पाउनु ठूलो उपलब्धि भएको बताए।
उनी भन्छन्, “नेपाली टोलीका सदस्यहरुसँग जहिल्यै सुकै खेल्न पाइदैँन, त्यो एकदमै फरक अनुभव हुनेछ र हामीले धेरै कुरा सिक्न पाउने अपेक्षा गरेका छौँ।”
धनगढी प्रिमियर लिगले प्रतियोगिता अवधिभर सुदूरपश्चीम क्षेत्रमा आर्थिक गतिविधि बढ्ने स्थानीयवासीको अपेक्षा छ।
साथै प्रतियोगिताकै कारण समग्र सुदूरपश्चिमको क्रिकेट प्रेमको पहिचान थप फराकिलो बन्ने विश्वास आयोजकहरुले गरेका छन्।


