![]()
बतास झैँ बहकिरहने,चञ्चल नानीहरूलाई
कक्षाभित्र कैद गरी
एकोहोरो फिजाइरहेँ, ज्ञान को बिस्कुन ।
आकाश उड्ने चराहरू रोकेर, हिँड्न लगाएँ ।
सागर पुग्ने माछाहरू बल्छीमा अल्झाएर
पोखरीमा रम्न सिकाएँ ।
आमाको साथ छोडी आएका हत्केलामा
सुम्लो बस्ने गरी चेतावनीको थुङ्गा राखिदिएँ
मायाको चुम्बन पोत्नुपर्नेगालामा
सावधानीका थप्पडहरू बर्साएँ
र लखतरान बाहिरिएँ,
झरीमा गाईबाख्रा चराएर, फर्किएको गोठालो झैँ !
उनीहरूको, कोमल हृदयमा कठोर भावना रोपेँ हुँला
शान्त मनको तलाउमा विद्रोहको ज्वाला झोसेँ हुँला,
निर्दोष आँखाहरूमा आँसु बालेर, श्राप तापेँ हुँला
मोतीको चमक भर्न हिँडेको हुँ, बालुवामा ।
आँकुरा पलायो कि पलाएन ?
कोपिला फक्रिएर फुल्यो कि फुलेन ?
अब त ! धेरै भो,
एकैछिन विश्राम लिएर
पाठ पढाउने पालो
उनीहरूलाई नै दिनु पर्ला !


