![]()
समीक्षा: सम्पादकीय
नेपाली राजनीतिमा सबैभन्दा लामो लोकतान्त्रिक इतिहास बोकेको पार्टी नेपाली कांग्रेस अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा उभिएको छ। बाहिरबाट हेर्दा पार्टी ढिक्का देखिए पनि भित्रभित्रै गुटबन्दीको ‘धमिरा’ले कांग्रेसको जग कमजोर बनाउँदै लगेको छ। सभापतिदेखि महामन्त्रीसम्म, र केन्द्रदेखि भातृ संगठनका नेतृत्वसम्म फैलिएको यो गुटगत मनोविज्ञानले पार्टीलाई एउटा जीवन्त राजनीतिक संस्थाभन्दा पनि ‘गुटहरूको महासंघ’ जस्तो बनाइदिएको छ।
गुटबन्दी: पार्टीभित्रको महारोग
आज कांग्रेसभित्रको सबैभन्दा नराम्रो पक्ष भनेकै प्रत्येक नेताको आफ्नै छुट्टै गुट हुनु हो। सभापति, उपसभापति, महामन्त्री र सह-महामन्त्रीहरू मिलेर पार्टी निर्माणमा लाग्नुपर्नेमा आफ्नै गुटलाई कसरी बलियो बनाउने भन्ने प्रतिस्पर्धामा देखिन्छन्। यो रोग भातृ संगठनका अध्यक्षहरूसम्म सरेको छ। पार्टीलाई साझा थलो मान्नुको सट्टा ‘आफ्नो बाको बिर्ता’ ठानेर कब्जा गर्ने प्रवृत्तिले गर्दा निष्ठावान र योग्य कार्यकर्ताहरू पाखा लगाइएका छन्।
पार्टीमा अहिले योग्यता र क्षमताभन्दा पनि नेताको ‘जी-हजुरी’ गर्ने र वरिपरि झुम्मिने अयोग्य कार्यकर्ताहरूको झुण्डको बोलवाला बढेको छ। आफ्ना गुटका मान्छे भेला पारेर ठूला गफ हाँक्ने तर आम जनताको मुद्दामा मौन बस्ने नेतृत्वको कार्यशैलीले कांग्रेसलाई आम नागरिकबाट टाढा धकेल्दै छ।
प्रविधिमा अपडेट, प्रवृत्तिमा आउटडेटेड
कांग्रेसका नेताहरू आधुनिकताको नाममा हातमा ‘iPhone’ जस्ता उत्कृष्ट र महँगा ग्याजेट बोक्न त रुचाउँछन्, तर बिडम्वना! उनीहरूको सोच र कार्यशैली भने अझै पुरानै ढर्रामा सीमित छ। प्रविधिको प्रयोग गरेर जनतासँग जोडिने र समयको गतिलाई पछ्याउने तत्परता नेतृत्वमा देखिएन। केवल भौतिक सुविधामा आधुनिक बन्ने तर राजनीतिक चेतना र सक्रियतामा ‘आउटडेटेड’ हुनु नै आजको राजनीतिक हारको मुख्य कारण हो।
स्पष्ट रोडम्यापको अभाव
समाज कुन दिशामा जाँदैछ? युवा पुस्ताको चाहना के छ? र देशको आर्थिक-सामाजिक अवस्था कस्तो छ? भन्ने विषयमा कांग्रेससँग आज कुनै स्पष्ट ‘रोडम्याप’ छैन। जनताका आधारभूत आवश्यकता—महँगी, बेरोजगारी र सुशासन—जस्ता मुद्दामा ध्यान दिनुको सट्टा नेताहरू केवल सत्ताको अंकगणित र आन्तरिक भागबण्डामा अल्झिएका छन्। भविष्यको स्पष्ट खाका नहुँदा कांग्रेस अहिले कुहिरोको काग जस्तै बनेको छ।
गल्ती स्वीकार नगर्ने अहंकार
राजनीतिमा हार-जित स्वभाविक प्रक्रिया हो, तर आफ्नो गल्ती महसुस नगर्नु र हारको समीक्षा नगरी अरूलाई दोष थुपार्नु आत्मघाती कदम हो। “हामीबाट गल्ती भएको छ” भन्ने सामान्य ख्यालसम्म नेतृत्वलाई नहुनुले कांग्रेसलाई सुधारको बाटोमा जानबाट रोकेको छ। अहंकारले भरिएको नेतृत्व र गुटमा रमाउने कार्यकर्ताका कारण पार्टीले आज यो हविगत भोग्नुपरेको हो।
निष्कर्ष
नेपाली कांग्रेसले अब पनि आफूलाई नसच्याउने हो भने इतिहासको ब्याजले मात्र पार्टी चल्ने छैन। गुटबन्दीको अन्त्य, योग्यलाई अवसर, प्रविधि सँगसँगै प्रवृत्तिको आधुनिकिकरण र जनताको मुद्दासँग प्रत्यक्ष सामिप्यता आजको अनिवार्य आवश्यकता हो। अन्यथा, ठूला गफ र महँगा फोनले मात्रै लोकतन्त्रको यो मियोलाई जोगाउन सक्ने छैन।
श्रोतः www.everestonlinekhabar.com



