![]()
काठमाडौँ ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता नै मुख्य सर्त हुनुपर्ने निष्कर्ष नेताहरूले निकालेका छन्। पूर्वअर्थमन्त्री एवं पार्टीका नेता कुन्दनराज काफ्लेले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन सभापति शेरबहादुर थापाको बहुमत पकडलाई स्विकार्न तयार रहेको तर महाधिवेशनको निष्पक्षतामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
विशेष महाधिवेशन पक्षका गतिविधिले गर्दा एकता प्रक्रिया अलमलिएको भन्दै फेरि संवाद अघि बढाउने निर्णय भएको नेता काफ्लेले जानकारी दिए। महाधिवेशनलाई प्रत्यक्ष प्रभाव पार्ने महत्त्वपूर्ण संरचनाहरू जस्तै— अनुशासन समिति, क्रियाशील सदस्यता वितरण समिति, र अधिवेशन आयोजक समितिमा संस्थापन पक्ष (सभापति) को बहुमत कायमै राख्न आफूहरू बाधक नबन्ने उनको भनाइ छ।
अल्पमतसहितको सहभागिता र सर्वसम्मत निर्णयको सूत्र
नेता काफ्लेका अनुसार ती समितिहरूमा इतर पक्षलाई अल्पमत सङ्ख्यासहित समेटेर, तर निर्णय प्रक्रिया भने सर्वसम्मतिबाट मात्रै गर्ने सहमति भएको अवस्थामा पार्टी एकतासहित अघि बढ्न अन्य कुनै समस्या नहुने निष्कर्ष निकालिएको छ।
‘विशेष महाधिवेशन पक्षको गतिविधिले एकता अघि नबढेकाले फेरि संवाद गर्ने, तर १५औँ महाधिवेशनको निष्पक्षता सुनिश्चितताका लागि महाधिवेशन प्रभावित हुन सक्ने तयारीसँग जोडिएका अनुशासन समिति, क्रियाशील सदस्यता वितरण समिति, अधिवेशन आयोजक समितिलगायतमा सभापतिकै बहुमत कायम राखेर हाम्रो पक्षलाई अल्पमत संख्यासहित समेटेर सर्वसम्मतिमा मात्र निर्णय हुने सहमति भएको अवस्थामा एकतासहित अघि बढ्न अरू कुनै समस्या नहुने निष्कर्ष निकालिएको छ,’ काफ्लेले भने ।
कांग्रेसमा गुट हुनु नौलो होइन, महाधिवेशनको निष्पक्षता मुख्य कुरा
नेपाली कांग्रेसभित्र स्थापनाकालदेखि नै विभिन्न गुटहरू रहँदै आएको स्मरण गराउँदै नेता काफ्लेले अहिले पनि फरक–फरक समूहले बैठक बसेर निर्णय गर्नुलाई नौलो मान्न नसकिने बताए। उनका अनुसार आन्तरिक बैठकहरूमा नेताहरूबीच फरक-फरक धारणा आएका छन्।
‘बैठकमा कतिपय साथीहरूले पहिलेको केन्द्रीय सदस्य रहनुभएकाहरू सबै केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यमा समेटिनुपर्ने कुरा उठाउनुभयो, कतिपयले पद संख्या ठुलो कुरा होइन, समय र परिस्थितिलाई हेरेर जे गर्दा पनि भयो, तर महाधिवेशन निष्पक्ष हुनुपर्ने धारणा राख्नुभयो,’ काफ्लेले थपे, ‘कांग्रेसमा स्थापनाकालदेखि गुटहरू रहँदै आए पनि मुख्य कुरा महाधिवेशनको निष्पक्षता नै हो।’
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै आगामी १५औँ महाधिवेशनलाई मर्यादित र विश्वासिलो बनाउन संस्थापन इतर पक्षले मध्यमार्गी बाटो रोजेको सङ्केत यस निष्कर्षले दिएको छ।


