![]()
२०७६ चैत २४, डोल्पा । डोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन् । कोभिड–१९ विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर भोकभोकै रहेका डोल्पावासीलाई सांसदले खाद्य सामग्री वितरण गरेका हुन् । उपचारका लागि काठमाडौँ गएका डोल्पाली लकडाउनपछि अलपत्र परेका थिए ।
पूर्वराज्यमन्त्री बुढाले जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिंहका तीन जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाका ६ जनाको परिवारलाई नुन, चामल, तेल, दाल, मसलालगायत खाद्य पदार्थ वितरण गरेका हुन् । ‘उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नुपरेको थियो, सांसद बुढाको सहयोग पायौँ, ठूलो राहत महसुस गरेका छौँ’, राहत थाप्दै कमलाले भनिन् । डोल्पाली भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरीद गरेर वितरण गरिएको सांसद बुढाले जानकारी दिए । रासस


