![]()
२०७६ फागुन २२, भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सश्स्त्र प्रहरीको पूर्वगुहेश्वरी पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा उक्त जग्गामा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिमा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
उनले मानव कङ्कालमा रहेको पुरुषको लुगा, टाउको र अन्य शरीरको अङ्गहरुको कङ्काल टुक्रा परेको अवस्थामा भेटिएको र कसको कङ्काल भने पहिचान हुन नसकेको जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा सो कङ्काल पुरुषको भएको तथा कङ्काल धेरै अगाडिको हुनसक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान शुरु गरेको छ । थप अनुसन्धानका लागि कङ्काललाई बेलुका साढे ६ बजे शिक्षण अस्पताल लगिएको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । रासस


