1,075 total views,  10 views today

काठमाडौँ — उकेराका प्रधानसम्पादक केपी ढुंगानाले बिहीबार राति सर्भरमा अनाधिकृत प्रवेश गरेर ह्याकरले रास्वपा सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौंका मेयर बालेन शाह सँग सम्बन्धित समाचार हटाएर असान्दर्भिक फोटा तथा शीर्षक राखेको बताए ।

उनका अनुसार रास्वपाका सभापति लामिछानेसँग सम्बन्धित नागरिकता र राहदानीका दुईवटा, उपराष्ट्रपति पुनका छोरा दीपेश आबद्ध रहेको सुप्रिम बचत तथा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धी दुईवटा, काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाएको विषयको एउटा र अर्को एउटा समाचार हटाई त्यसको ठाउँमा असान्दर्भिक तस्बिर र सामग्री पोष्ट गरिएको छ ।

प्रधानसम्पादक ढुंगानाले समाचारका विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउने सुविधा हुँदाहुँदै अनलाइनमा अनाधिकृत प्रवेश गरेर समाचार हटाउनु आपत्तिजनक रहेको भन्दै यस विषयमा कानुनी उपचारमा जाने बताए । ढुंगानाका अनुसार सर्भरमा छिर्न मोबाइल, ट्याब र ल्यापटप प्रयोग गरिएको खुलेको छ । ‘राति १२ः१५ बजेदेखि शुक्रबार बिहान २ः०० बजेको अवधिमा सर्भरमा अनधिकृत प्रवेश गरेर आधा दर्जन समाचार हटाइएको छ,’ उनले भने, ‘सर्भर डिटेल रिकभर भइसकेको छ । अब लगइन डिटेल आएपछि यसमा कानुनी उपचारमा जान्छौं ।’

यसैबीच उकेरा अनलाइनमा अनधिकृत प्रवेश गरी समाचार हटाएकोमा फ्रिडम फोरम र अनलाइन पत्रकार संघ नेपालले आपत्ति जनाएका छन् । दुवै संस्थाले यसलाई स्वतन्त्र प्रेसविरुद्धको काम भन्दै संलग्नलाई कारबाही दायरामा ल्याउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार