544 total views,  2 views today

– मेनुका भण्डारी
२०७७ पुस २८, काठमाडौं । नेपाली वन पाखामा विविध प्रजातिका वनस्पति पाइन्छन् । सवै वनस्पतिका गुण र अवगुण दुवै छन् । तर नेपाली रैथाने वनस्पतिहरु कुनै न कुनै रुपमा धेरै उपयोगी छन् । यस्तै उपयोगी वनस्पति मध्येको एक हो – अल्लो । गाउघरमा चाल्ने सिस्नु पनि भनिने अल्लोको वैज्ञानिक नाम Girardia Dicersifolia हो । १२ सय देखि ३ हजार मीटर सम्मको उचाइमा पाइने अल्लो बाह्रमासे वनस्पति हो । मध्य र उच्च पहाडी भूभागका ओसिलो र सेपिलो ठाउमा सप्रिने अल्लो वहु उपयोगी छ । किनकी अल्लोको वोक्राबाट प्राप्त हुने नरम तर वलियो रेशाबाट उच्चकोटीको धागो उत्पादन हुन्छ । अल्लोको धागोबाट बनाइएका आधुनिक पहिरनका उत्पादनको माग वजारमा बढ्दो छ ।
नेपाली जनजीवनमा अल्लोको उत्पादन परम्परागतरुपमै प्रचलनमा छ । नेपालको उच्च पहाडी भेगका गुरुङ समूदायका पुर्खाले पुरानो समयकालबाटै प्रयोगमा ल्याएको भांग्रा अहिले गुरुङ जातिको पहिचान बोक्ने पहिरन बनेको छ । नेपाली मौलिक भेषभूषाको प्रतिक बनेको छ । उबेला अल्लोको बोक्रा कुटेर बनेको मोटो धागोबाट भांग्रा तयार गरिन्थ्यो । त्यसैले अल्लोलाइ भांग्रे सिस्नु पनि भनिन्छ । समयक्रमसंगै अल्लो भांग्रामा मात्र सिमित रहेन । विषालु काँडाको वैगुन भएपनि जरादेखि मुनासम्म उपयोगमा आउने वहुगुणी अल्लोलाइ ओखतीकारुपमा प्रयोग समेत गरिन्छ ।
प्राकृतिकरुपमै पलाउने अल्लोको संरक्षण सजिलो छ । वन क्षेत्रका खोल्सा खोल्सी र ओसिला पखेरीमा पाइने अल्लो गैर काष्ठ वन पैदावर हो । त्यसैले यसको संकलन पनि सहज छ । अल्लोको अत्याधिक उपयोग धागो बनाउनका लागि गरिन्छ । प्रशोधन गरेर निकालिने अल्लोको धागोबाट कपडा र गलैंचा उत्पादन हुन्छ । अल्लोको मसिनो धागोबाट कोट, वेस्ट कोट, शल, मफ्लर, टोपी, हाते र कम्प्युटर झोला, पर्स र जुत्ता समेत बनाइन्छ ।
अल्लोको धागोबाट २ सय भन्दा बढी किसिमका समानहरु बन्ने गरेका छन् । सिमित उत्पादन तर उत्कृष्ट गुणस्तरको भएकाले अल्लोबाट उत्पादित सामाग्रीहरुको माग विदेशमा समेत बढ्दो छ । नेपाली अल्लोका उत्पादनको अत्यधिक माग जापानमा छ । यसका साथै डेनमार्क,दक्षिण कोरिया, अष्ट्रेलियाका साथै युरोप र अमेरिका लगायतका देशमा पनि निर्यात हुने गरेको छ । अल्लोबाट बनेका कपडाहरुको गुणस्तर अव्वल मानिन्छ । त्यसैले नेपालमा पनि खासगरी अल्लोको कोट विशिष्ट व्यक्तिहरुको विशेष रोजाइमा पर्दैछ । त्यसैगरी अल्लोबाट बनेका हस्तकलाका सामाग्रीहरु उत्कृष्ठ उपहारकारुपमा समेत प्रयोग हुँदैछन् ।
अल्लोको धागो टिकाउ र प्राकृतिक भएकाले यसको माग नेपालको गलैंचा उद्योगमा पनि प्रत्यक वर्ष बढ्दो छ । तर बढ्दो मागलाइ आपूर्तिले धान्न सकेको छैन । अहिले गलैंचा उद्योगमा अल्लो धागोको माग ८ सय देखि १ हजार मेट्रिकटन भएपनि खपत करिव २ सय ८० मेट्रिकटन मात्र छ । अल्लोको धागो नेपालमै पाइने र धेरै वलियो हुने भएकाले गलैंचा उद्योगमा यसको माग बढेको हो । अहिले गलैँचा बुन्नका लागि चाहिने कच्चा पदार्थको रूपमा रहेको ऊनलाई अल्लोले विस्थापन गर्दै छ । गलैंचा कारखानाहरुका लागि अल्लो धागो नाफामूलक समेत सावित भएको छ । नेपालमा करिव ९ सय वटा गलैंचा उद्योग दर्ता छन् । तर २ सय ४० वटा संचालनमा रहेका छन् । गलैंचामा अल्लोको प्रयोगसंगै यसको निर्यात पनि वेस्सरी बढेको छ । सन् २०१०/११ को तुलनामा २०१५/१६ मा चार दोव्वर बढेर करिव ८ अर्व पुगेको छ ।
नेपालमा पूर्वको पाँचथरदेखि सूदूरपश्चिमको दार्चुला सम्मको मध्य र उच्च पहाडी भेगमा अल्लो पाइने गरेको छ । तर मध्य र सुदूर पश्चिम अल्लोको उत्पादन तुलनात्मकरुपमा बढी छ । त्यसैले अल्लो उद्यमबाट आर्जन गर्नेको संख्या पनि यसै क्षेत्रमा अलि धेरै छ । अल्लोको बढ्दो वजारले यसको उपयोगीता र आम्दानीसंगै रोजगारी पनि बढाएको छ । अल्लो संकलन देखि साना उद्योगी सम्मको संख्या अहिले १ लाख भन्दा बढी छ । अल्लोको संकलन र धागो बुनाईले सीमान्तकृत र साना किसानहरूलाई राम्रो रोजगारी दिएको छ । धागो बुनाईमा प्रायः जसो महिलाहरू संलग्न हुने भएकाले यसले महिला स्ववलम्वन र सशक्तिकरण समेत सघाएको छ । समग्रमा ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरणमा अल्लोको भूमीका उल्लेखनीय सावित हुँदैछ ।

विपन्न वर्गको आर्थिक र सामाजिक सुधारमा अल्लोको उपयोगीता बढेसंगै सरकारले नयाँ योजना र कार्यक्रमहरु पनि ल्याउदै छ । वनजंगलमा खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगारी सिर्जना गर्न सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । विशेषगरी दलित र आदिवासी महिला लक्षित कार्यक्रमले उनीहरुको जीवनस्तरमा सुधार ल्याउने छ ।
नेपालमा अल्लोको संभावना जति छ । समस्या पनि त्यत्तिकै छन् । वनमा पाइने भएकाले यसको संकलनमा जिल्ला वन कार्यालयले प्रति केजी डाँठको २० रुपैयाँ राजश्व उठाउने गर्दछ । जवकी अल्लो संकलन नगर्दा खेर जाने वनस्पति हो । त्यसैगरी अल्लोको ढुवानी प्रतिवन्धित छैन । तर सडकका जाँच चौकीहरुलाइ कुरा वुझाउन मुश्किल छ । अल्लोको फसलदेखि धानो बनाउने काम सम्मको प्रकृयामा धेरै मेहनत र झन्झट गर्नुपर्दछ । त्यसले अल्लोको उत्पादकत्व र गुणस्तरमा समेत कमी आउने गर्दछ । यसका साथै लघु, घरेलु र साना उद्योगहरु मार्फत अल्लोको अधिकतम उपयोगीतालाइ प्राथमिकता दिन नसक्दा पनि अमूल्य अल्लो वनजंगलमा त्यसै खेर जाँदैछन् ।
समग्रमा अल्लोको उत्पादन दुर्गम र विपन्न क्षेत्रको उन्नतिका लागि औधी उपयोगी छ । स्थानीस्तरमा पाइने स्रोतको सही उपयोगले सामान्य मानिसलाइ पनि सानै भएपनि रोजगारी दिएको छ । नेपालमा परम्परादेखि प्रयोगमा रहेका अल्लोका उत्पादनको वजार विदेशमा समेत वढेको छ । यसले देशको अर्थतन्त्रलाइ पनि वलियो बनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार