Breaking News.... EverestOnlineKhabar
February 9, 2026

Loading

राष्ट्रपति विद्यादेवी भण्डारी झण्डै ५० जना सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान भारततर्फ प्रस्थान गरेकी छिन्।

पहिलोपटक भारतको राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मंगलबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टा-छुट्टै भेट गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार नेपाल फर्किनुअघि राष्ट्रपति भण्डारीले बुधवार गुजरात र उडिसाको भ्रमण गर्नेछिन्।

गत वर्षका लागि तय गरिएको राष्ट्रपति भण्डारीको भारत भ्रमण तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो।

राष्ट्रपतिको भ्रमण दुईदेशको सम्बन्ध सुदृढ पार्न केन्द्रित हुने उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले बताएका छन्।

“विद्यमान सम्बन्धलाई अझ कसरी विकसित र आधुनिक बनाउने भन्ने कुरा गर्दा केही असमझदारी विगतमा देखिएका हुन्।

“साथै दुई देशका बिकासका बाटाहरु छन् र त्यो बिकासका बाटाहरुमा एक आपसमा सहयोग हुनुपर्छ भन्ने सन्देश नै राष्ट्रपतिले भ्रमणका क्रममा दिनुहुनेछ,” उनले भने।

‘सम्झौता हुने छैन’

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गरेको करिब सात महिनापछि राष्ट्रपति भण्डारीले भारतको भ्रमण गर्न लागेकी हुन्।

नेपाल सरकारले राष्ट्रपति भण्डारीको भ्रमणलाई विशेष महत्वको भएको बताएको छ।

आलङ्कारिक राष्ट्रपति भएकोले भण्डारीको भ्रमणका क्रममा कुनै सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसबारे मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, “उच्चतम तहमा हुने यसप्रकारका भ्रमणले समग्र दुईपक्षिय मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउने हाम्रो विश्वास छ।

“हरेक भ्रमणमा कुनै सन्धी सम्झौता नै हुनै पर्छ भन्ने छैन। यस भ्रमणमा कुनै त्यस्तो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छैन।”

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपति भण्डारीको भ्रमण कार्यक्रमलाई अनुमोदन गरेको थियो।

तर राष्ट्रपति भारत जाने र त्यहाँबाट फर्किने दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको धेरैले आलोचना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.