![]()
नवलपरासी,२२ चैत ।संविधान संशोधन विना चुनाव गर्न नहुने माग राख्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नवलपरासीको अधिकांश गाउँपालिका अर्थात साबिक गाविस कार्यालयहरुमा तालाबन्दी गरेको छ ।
संविधान संसोधन नगरी मधेशी थारु जनजाती,आदिबासी लगायतहरुको जायज माग बेवास्ता गरेको र सिमाकंन सहितको संबिधान संसोधन नभए सम्म मधेशमा कुनै किसीमको निर्वाचन हुन नदिने भन्दै मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
साथै त्रिबेणी सुस्ता,रुपौलिया, कुडिया, नर्सही,पक्लिहवा गाविसहरु प्रदेश नं. ४ मा राखेकोले उक्त निर्णय फिर्ता लिएर प्रदेश नं.५ मा राख्नु पर्ने माग गर्दै साबिक गाविसहरुका बासीन्दाहरु जागरण अभियान, बिरोध प्रदर्शन, धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले सोमबार गरेको निर्णय अनुसार मंगलबार जिल्लाको बिभिन्न नगरपालिका गाउपालिका र साबिक गा.वि.स.हरुमा ताला बन्दी गरेको हो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले सरकार बिरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् । जिल्लाको रामग्राम नगरपालिका साबिक सनई,सुक्रौली,हकुई,देवगाव त्यस्तै प्रतापपुर गाऊपालिका साबिक जमुनिया, सोमनी,ठुलो खैरटवा,बैदौली,गुठीपरसौनी,प्रतापपुर,त्यस्तै पाल्हीनन्दन गाऊपालिका साबिक रमपुरवा,हरपुर,कुश्मा,पाल्ही, गेरमी, सनई,त्यस्तै सरावल गाऊपालिका साबिक रामपुर खडौना, भुजहवा,बडहरादुबौलिया,लगायत गा।वि।स।हरुमा तालाबन्दी गरेको मधेशी मोर्चाका जिल्ला संयोजक मुकुल गिरीले जानकारी दिएका छन् ।
त्यस मध्ये प्रतापपुर गाऊपालिका साबिक जमुनिया र सरावल गाऊपालिका साबिक भुजहवामा पहिलै देखी ताला बन्दी गरिएको थियो । नयाँ संरचना अनुसार नवलपरासीमा ७ नगरपालीका र ८ गाउपालिका गरी १५ स्थानिय तह बनाईएको छ । तर मधेशी मोर्चाले भने आफुहरुको सहमति बिना ल्याइएको नयाँ संचरना कार्यान्वयन हुन नदिने बताउँदै आएका छन् । उनीहरुले संविधान संशोधन मार्फत आफ्ना मागहरु पुरा नभएसम्म तालाबन्दी जारी रहने समेत चेतावनी दिएका छन् ।


