![]()
आसन्न स्थानीय तहको चुनावमा करिब डेढ करोड मतदाताले भोट हाल्न पाउने भएका छन्। कूल एक करोड ४० लाख मतदातामध्ये पुरुष र महिलाको संख्या बराबर जस्तै छ। निर्वाचन आयोगले यो नै अन्तिम नामावली हुने जनाएको छ। आइतबार साँझबाट मतदाता नामावली छाप्न शुरु गरेको आयोगले सोमबारबाट मतदाता परिचयपत्र छाप्न थालिने जनाएको छ।
यसै वर्षको फागुन ९ गतेसम्म १८ वर्ष पूरा भई त्यस अवधिभित्र फोटोसहितको मतदाता सूचीमा दर्ता भएकाहरुको नाम आयोगले स्वीकृत गरेको हो।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “पुरुष मतदाताको संख्या ७० लाख ६९ हजार ७१४ छ भने महिलाको संख्या ६९ लाख ८४ हजार ६२५ छ र तेश्रो लिङ्गी १४३ जना छन।”
सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन्। त्यसपछि काठमण्डूमा सबैभन्दा बढी मतदाता छन्। ती दुवै जिल्लामा साढे पाँच लाखको हाराहारीमा मतदाता छन्।सबैभन्दा कम मनाङ जिल्लामा करिब ५ हजार मतदाता छन्।
मतदाता नामावली छाप्ने काम आयोगले मनाङ जिल्लाबाटै शुरु गरेको छ।आयोगका प्रवक्ता शर्माले भने, “७५ जिल्लाको मतदाता नामावली छाप्ने कामको उद्घाटन प्रमुख निर्वाचन आयुक्तले शुरु गर्नुभएको छ। सोमबारबाट आयोग परिसरभित्रै मतदाता परिचयपत्र छाप्ने काम शुरु हुन्छ।”प्रदेश नम्बर २ का छ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गर्न बाँकी छ।
त्यो पूरा हुने बित्तिकै मतदाताको नामसहितको पूर्ण विवरण आयोगले वेबसाइटमा प्रकाशित गर्ने बताइएको छ।तराईका जिल्लामा नामावली दर्ताको थप समय दिइनुपर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कतिपय नेताको माग देखिन्छ। तर आयोगले यो नै अन्तिम नामावली हुने निर्णय गरिसकेको छ।


